काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ । आइतबार बिहानदेखि लेदोसहितको ठुलो बाढी आइरहेकाले त्रिशूली दोभानसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बाढीको बहाव पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतिका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम छ । त्यसैले यी क्षेत्रमा रहेका बासिन्दा सतर्क हुनुपर्ने उनले बताए ।
गोर्खाको चुमनुम्ब्री गाउँपालिका वडा नम्बर ६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकीमा मिसिएको छ । बूढीगण्डकी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्ने गरेको छ ।
बाढीको कारण अहिलेसम्म खुलेको छैन । माथिल्लो क्षेत्रमा पानी परेको रेकर्ड छैन । कतै पहिरो गएर बहाव रोकिएको र पछि बाँध फुटेर आकस्मिक बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको विपद् प्राधिकरणले जनाएको छ ।


