लोकदोहोरी स्टार’ सिजन २ को मञ्चमा दाङका मिलनराज

तुलसीपुर । टेलिभिजन शो ‘लोकदोहोरी स्टार’ सिजन २को अडिसन राउण्डमा दाङ शान्तिनगर–६ का मिलनराज पुन सहभागी भएका छन् । एभेन्टोज स्टुडियोको आयोजनामा सुरु भएको शोको अडिसनमा आइतबार मिलनले प्रस्तुती दिएका हुन् । अडिसनको निर्णायकमा गायिका कोमल वली र गायकद्वय राजु परियार र चन्द्र शर्मा रहेका छन् ।

राष्ट्रिय मञ्चमा पश्चिम दाङको प्रतिनिधिमुलक पात्र, नेपाली लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, परम्परागत लोक भाका तथा शैलीको राम्रो ज्ञान भएका मिलनको आवाज गुन्जिएको छ । लोकदोहोरी संगीतप्रति रुचि राख्दै आएका मिलनले आफ्नो गायन प्रतिभालाई राष्ट्रियस्तरको मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘लोकदोहोरी स्टार’को अडिसनमा सहभागिता जनाएको बताएका छन् ।

शान्तिनगरको स्थानीय परिवेशबाट सांगीतिक यात्रा अघि बढाइरहेका मिलनका लागि यो प्रतियोगिता आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर बनेको छ। ग्रामीण क्षेत्रबाट सांगितिक क्षेत्रमा उदाएका मिलन आफ्नो प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने अवसरका रूपमा लिएको उनले बताए । गायन क्षेत्रमा रुचि राख्ने मिलनले यसअघि पनि विभिन्न स्थानीय कार्यक्रम तथा सांगीतिक गतिविधिमा सहभागी हुँदै आफ्नो क्षमता प्रस्तुत गर्दै आएका छन्।

उत्कृष्ट, मौलिक रियालिटी सोको प्रतिस्पर्धामा मिलन लामाको ‘झल्को लाली ओठको’ बोलको गीतमा उनले आवाज दिएका थिए । उनको प्रस्तुती पछि निर्णयक मण्डलहरुले मिठो र राम्रो गीत गाएको र स्वरले पनि साथ दिएको भन्दै आगामी चरणको लागि सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उनले ‘लोकदोहोरी स्टार’को आगामी चरणमा पुग्न र सफलता पाउन दाङवासीको साथ, हौसला र सहयोगको अपेक्षा गरेका छन्। उनले संगीतप्रेमी, कलाकार, शुभेच्छुक तथा सम्पूर्णलाई आफ्नो यात्रामा साथ दिन आग्रह गरेका छन्।

यो कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट हरेका आइतबार र सोमबार राती ८ बजे प्रसारण हुने गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस