तुलसीपुर । टरिगाउँ विमानस्थलमा हप्ताका चार दिन जआज आउने भएको छ । अब हप्तामा आइतबार, मङ्गलबार, बिहीबार र शुक्रबार गरी चार दिन सेवा प्रदान गरिनेछ । हाल हवाई भाडा रु १२ हजार बराबर छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार हवाई सेवा बिहान ९ः०० देखि ११ः०० बजेको बीचमा उपलब्ध हुने छ ।
बिहीबार डेढ महिनापछि टरिगाउँ विमानस्थलमा जहाज अवतरण गरेको छ । नेपाल एयरलाइन्सको १९ सिटे जहाजमा बिहीबार काठमाडौंँबाट आठ जना र दाङबाट चार यात्रुले सेवा लिएको वरिष्ठ अधिकृत भुसालले जानकारीि दिए ।
मौसमका कारण अनियमित भएको दाङ–काठमाडौँ हवाईसेवा अब भने नियमित हुने वरिष्ठ अधिकृत भुसालको भनाइ छ । “मौसमले सेवा अनियमित थियो, अब नियमित हुन्छ”, उनले भने ।
टरिगाउँमा हाल ७५० मिटरमात्रै धावनमार्ग छ । जहाँ १९ सिटे जहाजमात्रै बस्न सक्छ । कम क्षमताको जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रु नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । सो विमानस्थलमा ठूला जहाज बस्नेगरी धावनमार्ग विस्तारका लागि पटकपटक आवाज उठ्दै आएको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन । विसं २०११ मा स्थापना भएको विमानस्थल विस्तार हुनसकेको छैन । चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका रु २५ करोड बजेट विनियोजन भएको छ ।


