पत्थरी किन हुन्छ, कसरी चिन्ने र के गर्ने ?

मिर्गौलामा पत्थरी बन्नुको प्रमुख कारण पिसाबमा केही खनिज तथा लवणको मात्रा बढी भएर क्रिस्टल बन्नु हो । पर्याप्त पानी नपिउनु, शरीरमा पानीको कमी हुनु, खानपान, मोटोपना, केही औषधि तथा वंशाणुगत कारणले पनि पत्थरीको समस्या आउन सक्छ ।

पत्थरीका मुख्य लक्षणहरू

– कम्मर वा ढाडको एकातिर अचानक असह्य दुखाइ हुन्छ ।
– यस्तो दुखाइ पेट हुँदै तल्लो पेट वा पिसाबथैलीतिर सर्दै जान्छ ।
– पिसाब गर्दा पोल्नु वा पटक(पटक पिसाब लाग्नु, पिसाबमा रगत देखिनु, वाकवाकी वा बान्ता हुनु पनि पत्थरीका लक्षण हुन् ।

आयुर्वेदअनुसार पत्थरी अश्मरीसँग सम्बन्धित छ । पर्याप्त जलसेवन, सन्तुलित आहार र उचित दिनचर्यालाई यसको रोकथाममा महत्त्वपूर्ण मानिन्छ । तर पत्थरी हुनासाथ अपरेसन नै गरिहाल्नुपर्छ वा घरमै पानी वा जडीबुटी खाएर मात्र पगालिन्छ भन्ने दुवै मान्यता सही होइनन् ।

घरमै गर्न सकिने पहिलो सावधानी भनेको शरीरलाई आवश्यक मात्रामा पानी दिइरहनु, पिसाब नरोकिनु र चिकित्सकको सल्लाहबिना औषधि नखानु हो । पत्थरीको आकार र स्थान थाहा पाएर सावधानी अपनाउनुपर्छ ।

विशेषगरी ६–७ एमएम वा त्योभन्दा ठूलो पत्थरी, असह्य दुखाइ, ज्वरो, बान्ता, पिसाब बन्द हुने वा पिसाबमा धेरै रगत देखिने अवस्था भए अस्पताल जानुपर्छ ।
पत्थरीमा धेरै पानी पिए सबै ठीक हुन्छ वा फलानो खानेकुरा पूर्ण बन्द गर्नुपर्छ भन्ने एकैखाले नियम सबैलाई लागू हुँदैन । पत्थरीको प्रकारअनुसार खानपान पनि फरक हुन्छ ।

प्रकाशित मिति : २०८३ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस