बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा कुनै कमी हुन नदिने बताएका छन्।
प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकलाई दाङमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विपद्बाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने र क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको मर्मतलाई प्राथमिकतामा राखिएको बताए।
प्रदेश सरकारले रोल्पामा तत्काल राहत सामग्री पठाइसकेको जानकारी दिँदै उनले प्रभावित क्षेत्रमा खानेपानी, सडक तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका कार्यालयलाई परिचालन गरिएको बताए। विपद्बाट घाइते भएकाहरूको प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
मनसुन अझै बाँकी रहेकाले भदौको अन्तिमतिर ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै मुख्यमन्त्री आचार्यले सबै सरकारी निकायलाई ‘हाई अलर्ट’मा रहन निर्देशन दिए। विपद्पछि उद्धारमा मात्र केन्द्रित नभई क्षति न्यूनीकरणका लागि पूर्वतयारीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।
प्रदेश विपद् व्यवस्थापन परिषद्मा प्रस्तुत विवरणअनुसार जेठ १८ देखि भदौ ३ गतेसम्म लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद्का ९१ घटना भएका छन्। ती घटनामा ८५ जनाको मृत्यु, १३ जना घाइते र दुई जना बेपत्ता भएका छन्। पानीमा डुबेर मात्रै ५८ जनाको मृत्यु भएको छ।
रोल्पामा मात्रै मनसुनजन्य विपद्का कारण चार स्थानीय तहमा २० जनाको मृत्यु भएको छ। थबाङ गाउँपालिकामा १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता र दुई जना घाइते भएका छन्। सुनछहरी गाउँपालिकामा छ तथा लुङ्ग्री र परिवर्तन गाउँपालिकामा एक–एक जनाको मृत्यु भएको छ। विपद्का कारण चार स्थानीय तहमा ११ घरधुरी विस्थापित भएका छन् भने ३१८ घरधुरी जोखिममा रहेको प्रदेश सरकारको तथ्यांक छ।
परिषद्ले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्ता क्षेत्रमा नदी कटान र बाढीको जोखिम न्यूनीकरणका लागि २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै, रोल्पाको थबाङ गाउँपालिका–५ स्थित उवा खोला सडक पुलको विङ वाल बाढीले बगाएको तथा पुलको पहुँच सडकमा ठूलो खाल्डो परेर आवागमन प्रभावित भएपछि तत्काल मर्मत तथा संरक्षणका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेका अनुसार सुलिचौर–थबाङ सडकका विभिन्न स्थानसमेत क्षतिग्रस्त भएकाले सडक पूर्वाधार विकास कार्यालय, रोल्पामार्फत उक्त रकम खर्च गरिनेछ।
प्रदेश सरकारले नेपालगञ्ज विमानस्थल परिसरमा रहेको मानवीय सहायता तथा प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रको गोदामबाट जिल्ला प्रशासन कार्यालय रोल्पाको मागअनुसार २० थान टेन्ट, ३० थान त्रिपाल, ४० थान ब्लाङ्केट, ४८ थान झुल, छ सेट किचन सेट र २० थान म्याट्रेस पठाएको छ।


