बुटवल। लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गतको बैठक आज सोमबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले दिएका छन्।
बैठकको सुरुवातमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू सभामुखले प्रदेशसभामा पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ।
नेपाली कांग्रेसले नेकपा एमालेसँगको सहकार्य तोड्दै सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन्। केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनीमा एमालेसहितका दलले सरकारलाई समर्थन गर्ने तयारी गरेका छन्।
एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने तयारी गरेका छन्। प्रदेशसभामा यी दलहरूको समर्थन कायम रहेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्ने सहज अवस्था देखिएको छ।


