भैरहवा । बालबालिका तथा सामाजिक सेवाको क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था किवानिज क्लब अफ लुम्बिनी प्रदेशको लेफ्टिनेन्ट गभर्नर (अध्यक्ष) मा विमल पौडेल र लेफ्टिनेन्ट गभर्नर इलेक्ट (प्रदेश उपाध्यक्ष) मा बंशीकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।
भैरहवामा शनिबार सम्पन्न क्लबको प्रदेशस्तरीय सम्मेलनले पौडेल र शर्मालाई सर्वसम्मत चयन गरेको हो । केन्द्रीय उपाध्यक्ष तथा निर्वाचन संयोजक भरत ढुंगेलले अध्यक्षमा पौडेलको उम्मेदवारी प्रस्ताव गरेका थिए भने किवानिज क्लब दाङका सुमित भुसालले समर्थन गरेपछि सम्मेलनले अनुमोदन गरेको थियो ।
त्यस्तै, लेफ्टिनेन्ट गभर्नर इलेक्टमा शर्माको उम्मेदवारी किवानिज क्लब अफ लर्ड बुद्धका अध्यक्ष दामोदर बस्नेत ‘राकेश’ले प्रस्ताव गरेका थिए । वेष्ट अफ नेपालका विनोद शर्माले समर्थन गरेपछि सम्मेलनले शर्मालाई सर्वसम्मत अनुमोदन गरेको हो । नवनिर्वाचित अध्यक्ष पौडेल र उपाध्यक्ष शर्माले किवानिज क्लब अफ लुम्बिनीलाई देशकै नमुना क्लबका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका लुम्बिनी प्रदेश अध्यक्ष अमनमान श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनमा किवानिज इन्टरनेसनलका ट्रस्टी मोहन लम्साल, केन्द्रीय उपाध्यक्ष रामहरि सुवेदी, कोषाध्यक्ष राजन न्यौपाने, केन्द्रीय सल्लाहकार तथा रुपन्देहीका पूर्वअध्यक्ष सुरज पङ्गेनी र लर्ड बुद्धका डोरबहादुर जिसीलगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै क्लबका मूल्य, मान्यता र उद्देश्यअनुसार सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउन सुझाव दिए ।
क्लबका अन्य पदाधिकारी तथा सदस्य प्रदेशमा रहेका विभिन्न क्लबका पदाधिकारी र सदस्यबाट मनोनयन गर्ने व्यवस्था क्लबको विधानमा रहेको निवर्तमान अध्यक्ष श्रेष्ठले जानकारी दिए। लुम्बिनी प्रदेशमा गठन भएका १७ क्लबमध्ये मापदण्ड पूरा गरेका १४ क्लबका प्रतिनिधि सम्मेलनमा सहभागी भएका थिए ।
किवानिज क्लबले ग्रामीण क्षेत्रका विद्यालयमा अध्ययनरत बालबालिका तथा आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री तथा आर्थिक सहयोग गर्दै आएको किवानिज क्लब अफ लर्ड बुद्धकी उपाध्यक्ष सुशीला शाहले बताइन् ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि मोहन लम्सालले किवानिज क्लबले स्थापनाकालदेखि नै सामाजिक सेवा र मानवीय कार्यलाई प्राथमिकतामा राख्दै समुदायमा सकारात्मक योगदान पु¥याउँदै आएको बताए । उनले आगामी दिनमा स्वास्थ्य, शिक्षा तथा विपन्न र असहाय नागरिकको सहयोगलगायतका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि रामहरि सुवेदीले छोटो समयमै क्लबले सामाजिक सेवाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताए । सेवाभाव, आपसी एकता र सहकार्यलाई संस्थाको मुख्य शक्ति भएको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले थप नयाँ सोच, योजना र ऊर्जाका साथ समुदायमुखी कार्यक्रम अघि बढाउनुपर्ने बताए ।
कार्यक्रममा यमनमान श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने समारोहको सञ्चालन रुपन्देही क्लबका सचिवले गरेका थिए ।


