काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा २८ साउनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसअघि २६ साउन राति काठमाडौं आइपुग्ने भनिएकोमा मिति फेलबदलपछि अब उनी २८ साउनको दिउँसो नेपाल आउने भएका हुन्।
स्वास्थ्य उपचारका लागि गत १३ फागुनमा सिंगापुर पुगेका देउवा करिब पाँच महिनापछि स्वदेश फर्किन लागेका हुन्। उनी प्रतिनिधिसभा निर्वाचनमा मतदान नगरी उपचारका लागि सिंगापुर गएका थिए।
देउवाको स्वागतका लागि विमानस्थलमा ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता सहभागी गराउने तयारी भएपछि रातिको सट्टा दिउँसोको समयमा नेपाल ल्याउने गरी उडान तालिका परिवर्तन गरिएको कांग्रेस नेताहरूले बताएका छन्।
कांग्रेस नेता प्रकाशरण महतका अनुसार यसअघि २६ साउन राति ९ः४५ बजे काठमाडौं अवतरण गर्ने गरी तय भएको टिकट संशोधन गरिएको हो। नयाँ तालिकाअनुसार देउवा २८ साउनमा बैंकक हुँदै थाई एयरलाइन्सको उडानमार्फत दिउँसो १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्।
तत्कालीन केन्द्रीय कार्यसमितिका मुख्य सचिव कृष्ण पौडेलले पनि देउवाको २८ साउन दिउँसो नेपाल आगमन निश्चित भएको बताएका छन्। उनका अनुसार निर्धारित समयअनुसार देउवा १२ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।


