मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता हो : शंकर पोखरेल

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र राजनीतिक स्थायित्व अहिलेको आवश्यकता भएको बताउँदै त्यसलाई कमजोर पार्ने गतिविधि हुन नहुनेमा जोड दिएका छन् ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटमा उनले प्रदेश सरकार सञ्चालनमा देखिएको अस्थिरता अन्त्यका लागि तीनवटै दलबिच सहकार्य आवश्यक रहेको बताए। महासचिव पोखरेलले प्रदेश सभामा रहेका कांग्रेस, एमाले र अन्य कम्युनिस्ट दलबिच सहकार्य गरेर सत्ता सञ्चालनमा देखिएको अस्थिरता अन्त्य गर्नुपर्ने बताउए।

बितेका तीन दशकमा देशले भौतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय प्रगतिका साथै सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी निर्वाचन प्रणालीलगायत विविध क्षेत्रमा उपलब्धिको हासिल गरेको बताउँदै प्राप्त उपलब्धिको रक्षा हुनुपर्ने बताए ।

देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन अपरिहार्य भएको विचार व्यक्त गर्दै महासचिव पोखरेलले राष्ट्रको उन्नतिका निम्ति वर्तमान सरकारले सार्वजनिक गरेका १०० बुँदे प्रतिबद्धताबाट जनतामा आशा पलाएको बताए ।

प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधा सुमन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव पोखरेलले यस क्षेत्रकै पुरानो टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि वर्तमान सरकारले बजेट विनियोजन गर्नु सकारात्मक कदम भएको बताए ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
प्रतिक्रिया दिनुहोस