नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचनसम्बन्धी रिट निवेदन पाटन उच्च अदालतद्वारा खारेज भएको छ । नाडाले १७ पुसमा साधारणसभा गर्दै अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको थियो ।
तर, उक्त निर्वाचन प्रक्रिया नै गलत र विधान विपरित भएको भन्दै असन्तुष्ट पक्षले सम्पूर्ण निर्वाचन प्रक्रिया बदरको माग गर्दै अदालमा रिट दायर गरेको थियो । उक्त रिट उच्च अदालत पाटनले बुधबार खारेज गरिदिएको हो ।
योसँगै नाडाको नवनिर्वाचित अध्यक्ष उप्रेतिसहितको टिमलाई शपथग्रहणका लागि बाटो खुलेको छ । साधारणसभा लगत्तै परेको रिटमा अदालतमा बिचाराधिन अवस्थामा संस्थाले न्यायालयप्रतिको उच्च सम्मान तथा विधिको शासनप्रतिको संस्थाको प्रतिबद्धतालाई मध्यनजर गर्दै नव–निर्वाचित कार्यसमितिको औपचारिक शपथग्रहण कार्यक्रम अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
तर, उच्च अदालतबाट रिट निवेदन खारेज भएको निर्णय प्राप्त भएसँगै उक्त विषयसँग सम्बन्धित सम्पूर्ण कानुनी अवरोध समाप्त भएको र नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहणका लागि मार्ग प्रशस्त भएको नाडाले जनाएको छ।
यसै सन्दर्भमा, नाडाको नव–निर्वाचित कार्यसमितिको शपथग्रहण कार्यक्रम संस्थाको विधान, विधि तथा स्थापित प्रक्रियाअनुसार निकट भविष्यमा सम्पन्न गरिने जानकारी समेत गराएको छ।


