चुनावमा आर्थिक चलायमान, दैनिक उपभोग्य वस्तुको माग उच्च

दाङ । प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा दाङका बजारमा चहलपहल बढेको छ, सवारीसाधनको चाप वृद्धि भएको छ र केही व्यवसायमा अस्थायी सुधार देखिएको छ । तर, व्यवसायीको अपेक्षाअनुसार व्यापक आर्थिक चलायमानता भने अझै देखिन बाँकी छ । अब चुनावको मिति झन् नजिकिँदै जाँदा बजारले कस्तो गति लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।

चुनावको मिति नजिकिँदै जाँदा जिल्लाका सहरबजारदेखि ग्रामीण बस्तीसम्म राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । मानिसको बढ्दो आवतजावतसँगै स्थानीय होटल, खाजा पसल तथा रेष्टुरेन्टमा ग्राहकको संख्या बढेको व्यवसायी बताउँछन् । विशेषगरी चुनावी टोली बिहानको खाजा, दिउँसोको खाना तथा साँझको नास्ताका लागि होटलमा पुग्ने क्रम बढेको छ । यसले गर्दा तरकारी, मासु, दूध, दही, अन्डालगायत दैनिक उपभोग्य वस्तुको माग पनि उकालो लागेको छ ।

घोराही, तुलसीपुरलगायतका मुख्य बजार क्षेत्रमा रहेका होटल व्यवसायीका अनुसार विगत केही हप्तायता व्यापारमा केही सुधार देखिएको छ । “अहिले चुनावी टोली दैनिकजसो आउँछन् । चुनावका लागि खटेका खाना खाने हुँदा बिक्री केही बढेको छ,” एक होटल व्यवसायीले भने । तर उनीहरूका अनुसार यो वृद्धि स्थायी प्रकृतिको नभइ चुनावी गतिविधिसँग मात्र सीमित छ ।

यस्तै, प्रचारप्रसार सामग्री उत्पादन गर्ने छापाखाना तथा डिजिटल प्रिन्टिङ पसलमा पनि कारोबार बढेको छ । पर्चा, पम्पलेट, ब्यानर, फ्लेक्स तथा स्टिकर छपाइका माग बढेका छन् । केही पसलले त अतिरिक्त समय काम गर्नुपरेको बताएका छन् । “उम्मेदवारले छोटो समयमै धेरै सामग्री तयार गर्नुपर्ने हुन्छ । त्यसैले अहिले कामको चाप छ,” एक प्रिन्टिङ व्यवसायीले भने । यद्यपि, बजारमा देखिएको भीडभाड र चहलपहल आर्थिक रूपमा अपेक्षाकृत सन्तोषजनक नभएको व्यवसायीको भनाइ छ ।

जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार श्रेष्ठले चुनावी समयमा बजार चलायमान हुने अपेक्षा गरिए पनि वास्तविक अवस्था त्यस्तो नरहेको बताए । “चुनावको समयमा व्यापार व्यवसाय बढ्नुपर्ने हो, तर त्यो हालसम्म स्पष्ट रूपमा देखिएको छैन,” उनले भने, “भीडभाड बढेको छ, तर त्यसअनुसारको आर्थिक गतिविधि विस्तार हुनसकेको छैन ।”

उनका अनुसार विगतका निर्वाचनमा जस्तै यसपटक पनि व्यवसायीले व्यापार वृद्धि हुने आशा गरेका थिए । तर, बढ्दो महँगी, उपभोक्ताको क्रयशक्ति कमजोर हुनु र आर्थिक तरलताको अभावका कारण बजार अपेक्षाअनुसार चलायमान हुन नसकेको उहाँले बताए । “मानिस खर्च गर्न सचेत भएका छन् । चुनावी माहोलले मात्र दीर्घकालीन आर्थिक सुधार ल्याउन सक्दैन,” उनले भने ।

चुनावले केही मात्रामा व्यापार व्यवसायमा वृद्धि भएको चेम्बर अफ कर्मसका अध्यक्ष विकास अग्रवालले बताए । “व्यवासायीको अपेक्षाअनुसार बजार चलायमान हुन सकेको छैन,” उनले भने । अहिले सवारीसाधन, होटेल रेस्टुरेन्ट, चिया हाउस, कफी हाउसको व्यापार वृद्धि भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस