तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोड, दूरसञ्चार चोकमा ‘तुलसीपुर बेकरी एण्ड डेरी सप’ सञ्चालनमा आएको छ। विदेशमा लामो समय काम गरेर स्वदेश फर्किएका देवेन्द्र भण्डारीले नेपालमै केही गर्ने उद्देश्यका साथ बेकरी तथा डेरी व्यवसाय सुरु गरेका हुन्।
सञ्चालक भण्डारीले ब्राजिलमा बसाइका क्रममा बेकरीसम्बन्धी अनुभव हासिल गरेका थिए। नेपाल फर्किएपछि उनले बाँकेको नेपालगञ्जमा बेकरी सञ्चालन गरेका थिए भने आफ्नै क्षेत्रमा व्यवसाय विस्तार गर्ने उद्देश्यले तुलसीपुरमा नयाँ बेकरी तथा डेरी सप सञ्चालनमा ल्याएको बताए।
उनले दुग्धजन्य पदार्थ मानव स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएकाले स्वच्छता र गुणस्तरलाई विशेष प्राथमिकता दिइने बताए। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै गुणस्तरीय तथा स्वच्छ खाद्य सामग्री उपभोक्तासम्म पु¥याउने प्रतिबद्धता उनले व्यक्त गरे।
यस व्यवसायबाट केक, पाउरोटी, बिस्कुटलगायत विभिन्न बेकरी सामग्रीसँगै दूध, दही, घ्यू तथा अन्य डेरीजन्य उत्पादन बिक्री–वितरण गरिने जनाइएको छ।
सञ्चालक भण्डारीका अनुसार स्थानीय युवालाई रोजगारी सिर्जना गर्ने तथा तुलसीपुर बजारमा प्रतिस्पर्धी र भरपर्दो सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। नयाँ व्यवसाय सञ्चालनमा आएसँगै तुलसीपुर क्षेत्रका उपभोक्ताले ताजा तथा स्वच्छ खाद्य सामग्री सहज रूपमा प्राप्त गर्ने विश्वास गरिएको छ।
डेरीबाट उत्पादित दुग्धजन्य वस्तु उपभोक्ताको सुविधाका लागि होम डेलिभरी सेवामार्फत समेत उपलब्ध गराइने सञ्चालक भण्डारीले जानकारी दिए।


