घोराही–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दाङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार निर्मल आचार्यले आठौँ घोराही मेयर रनिङकप फुटबल प्रतियोगिताका विजेता र उपविजेता टिमका खेलाडीलाई बधाई तथा सम्मान गर्नुभएको छ।
इराक घर्तीको नेतृत्वमा विजेता बनेको वडा नम्बर १३ र बिक्रम राणाको नेतृत्वमा उपविजेता बनेको वडा नम्बर ३ का खेलाडीहरूलाई विशेष सम्मान गर्दै आचार्यले खेलकुदले युवामा अनुशासन, एकता र सकारात्मक ऊर्जा विकास गर्ने बताउनुभयो।

उम्मेदवार आचार्यले भन्नुभयो, “खेलकुद क्षेत्रले समाजलाई स्वस्थ, अनुशासित र एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्छ। युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न स्थानीय तह र राज्यले थप लगानी र प्रोत्साहन गर्न आवश्यक छ।” उहाँले खेल र खेलाडीको विकासका लागि आफू निरन्तर लागिपर्ने बताउँदै आगामी दिनमा क्षेत्रभित्र खेलकुद पूर्वाधार विकास, प्रतिभाशाली खेलाडीको पहिचान तथा संरक्षणमा विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


माघ ४ गतेदेखी १६ गतेसम्म आयोजना भएको प्रतियोगितामा विजेता हुने वडाको टिमले नगद एक लाखसहित शिल्ड, मेडम, प्रमाणपत्र, उपविजेता हुने वडाको टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । नवलपर खेल मैदानमा सम्पन्न प्रतियोगितामा पालिका भरका १९ वटा वडाको सहभागिता रहेको थियो ।


