स्व. देवबहादुर के.सी. स्मृति ग्रन्थ लोकार्पण

तुलसीपुर / राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय देवबहादुर के.सी.को जीवन, विचार र योगदानलाई समेटेर तयार गरिएको देवबहादुर के.सी. स्मृति ग्रन्थ बिहीबार तुलसीपुरमा आयोजित एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, तुलसीपुरको प्रकाशन तथा के.सी. परिवार, तुलसीपुर–७ टिक्रापातुको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले स्मृति ग्रन्थको लोकार्पण गर्नुभएको हो।

ग्रन्थ लोकार्पण गर्दै गिरीले आजको राजनीतिमा निष्ठा, आदर्श र जनसेवामुखी सोचको खडेरी देखिएको उल्लेख गर्दै स्व. देवबहादुर के.सी.जस्ता निष्ठावान् राजनीतिज्ञको आवश्यकता अझ बढ्दै गएको बताउनुभयो। उहाँले युवा पुस्तामा आदर्श राजनीतिक मूल्य हस्तान्तरण गर्न अग्रजहरूको योगदानको अभिलेखन र पुस्तान्तरण अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। स्व. के.सी.जस्ता राष्ट्रवादी र निस्वार्थ व्यक्तित्वको जीवन र योगदान खोजी गरी लिपिबद्ध गर्नु प्रशंसनीय कार्य भएको उहाँको भनाइ थियो।

प्रमुख अतिथि गिरीले समाज रूपान्तरणमा स्व. के.सी.ले पु¥याएको योगदान स्मरण गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितका लागि गरिएको उहाँको संघर्ष भावी पुस्ताका लागि महत्वपूर्ण पाठ भएको उल्लेख गर्नुभयो।

प्रमुख अतिथि गिरीले समाज रूपान्तरणमा स्व. के.सी.ले पु¥याएको योगदान स्मरण गर्दै देशभक्त र निस्वार्थ व्यक्तित्व राष्ट्रमा विरलै जन्मिने बताउनुभयो। स्व. के.सी.ले व्यक्तिगत स्वार्थका लागि नभई जनताको हितका लागि गरेको योगदान भावी पुस्ताका लागि महत्वपूर्ण सिकाइ भएको उहाँको धारणा थियो।

कार्यक्रमका विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुर बजार निर्माण र समग्र विकासमा स्व. के.सी.को योगदानको प्रशंसा गर्नुभयो। उहाँले यस क्षेत्रको विकासमा के.सी.ले खेलेको भूमिकाका कारण यहाँका जनताले सधैं स्मरण गर्ने बताउनुभयो। देवबहादुर के.सी.जस्ता राष्ट्रवादी पात्रहरूको जीवन र योगदान खोजी गरी लिपिबद्ध गर्नु प्रशंसनीय कार्य भएको खडकाको भनाइ थियो।

कांग्रेस नेता दीपक गिरीको प्रमुख आतिथ्यता तथा मेयर टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरूले स्व. देवबहादुर के.सी.ले समाज, साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै स्मृति ग्रन्थले भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे। ग्रन्थमार्फत उहाँको जीवन, विचार र योगदानलाई दस्तावेजीकरण गरिएको बताइएको छ।

साहित्यकार, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम स्मृति ग्रन्थ प्रकाशन समिति संरक्षक डिल्लीबहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो। स्मृति ग्रन्थ प्रकाशन समितिका संयोजक नवराज रजौरेले स्व. देवबहादुर के.सी.को जीवनीबारे प्रकाश पार्नुभएको थियो। रजौरेकै स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सचिव नारायणप्रसाद शर्मा गौतमले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस