दाङ । थारू समुदायको मौलिक पहिचान झल्काउने माघ सांस्कृतिक महोत्सव यस वर्ष एकदिने रूपमा दाङमा आयोजना हुने भएको छ । थारूहरूको छाता संस्था थारू कल्याणकारिणी सभा दाङको आयोजनामा पुस १९ गते माघ सांस्कृतिक महोत्सव–२०८२ हुन लागेको हो ।यसअघि हरेक वर्ष दुई दिनसम्म आयोजना हुँदै आएको महोत्सव यस पटक विभिन्न कारणले एकदिने मात्र सीमित गरिएको सभाका अध्यक्ष अशोक चौधरीले जानकारी दिनुभयो । छोटो समयमै थारू संस्कृति, कला र परम्पराको समृद्ध प्रस्तुति दिने तयारी गरिएको उहाँको भनाइ छ ।
थारू समुदायको मौलिक कला, संस्कृति, भेषभूषा र जीवनशैलीको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव घोराहीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा सञ्चालन हुनेछ । महोत्सवमा थारू समुदायको चर्चित मघौटा नाचसहित विभिन्न सांस्कृतिक नाचगान, झाँकी प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिहरू देख्न सकिने आयोजकले जनाएको छ । महोत्सवमा थारू परिकारहरूको छुट्टै आकर्षण रहनेछ । घोंघी, माछा, गंगटा, ढिक्री, अनडीको रोटी, आलुको अचारलगायत परम्परागत खानाका परिकारहरूको बिक्री तथा स्वाद लिन सकिने व्यवस्था गरिएको छ । साथै थारू भाषामा प्रकाशित पुस्तकहरू तथा हस्तकलाका सामग्रीहरूको प्रदर्शनी र बिक्री पनि गरिनेछ ।


