लुम्बिनी प्रदेशमा अख्तियारमा उजुरी घट्दै

दाङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लुम्बिनी प्रदेशबाट उजुरी पर्ने क्रम घट्न थालेको छ । विगत पाँच वर्षको विवरण हेर्दा अख्तियारमा पर्ने उजुरीको संख्या घट्दो क्रममा देखिएको हो । आर्थिक वर्ष २०८०/०८१ मा अख्तियारमा पर्ने उजुरीको संख्या उच्च देखिए पनि त्यस यताका वर्षमा भने त्यो संख्या घट्दो क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रमुख बिनिता भट्टराईले जानकारी दिनुभयो । २०८०/०८१ मा आठ सय १६ वटा उजुरी परेका थिए । त्यसमा सात सय १६ फछ्र्यौट भएका र एक सय वटा उजुरी बाँकी रहे । आर्थिक वर्ष २०८१/०८२ मा भने घटेर अख्तियारमा छ सय ३७ उजुरी मात्रै परे । ती मध्ये पाँच सय ५६ उजुरी फछ्र्यौट भएका र ८१ वटा उजुरी बाँकी रहेको देखिएको छ ।

चालु आर्थिक वर्षको हालसम्मको अवधिमा दुई सय ७१ उजुरी दर्ता भएका छन् भने एक सय ४१ फछ्र्यौट भएका र एक सय ३० उजुरी बाँकी रहेको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८/०७९ मा पाँच सय ९४ उजुरी दर्ता भएकामा तीन सय ९४ फछ्र्यौट भएका र दुई सय उजुरी बाँकी रहेका थिए भने आर्थिक वर्ष २०७९/०८० मा चार सय ७३ उजुरी दर्ता भएका थिए । त्यसमा तीन सय २० फछ्र्यौट भए भने एक सय ५३ उजुरी बाँकी रहेका छन् । स्थानीय तह अन्तर्गत दाङमा भने आर्थिक वर्ष २०८१/०८२ मा उजुरी तीन सय ५६ दर्ता भएका छन् । जसमध्ये तीन सय २० उजुरी फछ्र्यौट भएका छन् भने ३६ वटा उजरी बाँकी देखिएको छ । लुम्बिनी प्रदेशमा पाँच वर्षको अवधिमा अख्तियारमा दुई हजार सात सय ९१ उजुरी परेको तथ्यांकले देखाएको छ । जसमध्ये दुई हजार एक सय २७ फछ्र्यौट भएका र छ सय ६४ उजुरी बाँकी देखिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस