तुलसीपुर । तिहारको पवित्र अवसरमा ‘सक्नेले दिने, नसक्नेले लिने’ अभियानले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा नयाँ उत्साह जगाएको छ । यहाँका युवा तथा सामाजिक अगुवाहरूले विभिन्न टोलहरूमा पुगेर विपन्न, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई घरघरमै खाद्यान्न सामग्री वितरण गरेका हुन् । अभियानले पर्वको खुसीलाई साझा बनाउँदै सामुदायिक एकताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
तिहारको चहलपहलमा युवाहरूको यो पहलले वडाका धेरै परिवारहरूलाई राहत प्रदान गरेको छ। अभियानका सहयोगीहरूले दाल, चामल, तेल र नुनजस्ता आधारभूत खाद्यान्न सामग्रीहरू वितरण गरेका थिए।
यो कार्यक्रम वडा सदस्य रामबहादुर पौडेल र देवारण्य छिल्लीकोट १००८ वर, पीपल, समी रोपण अभियानका गोकर्ण पाैडेलको नेतृत्वमा सम्पन्न भएको थियो। उनीहरूको टोलीले विभिन्न टोलहरूमा पुगेर आवश्यकता भएकाहरूलाई प्रत्यक्ष सहयोग गरेको छ ।
जसले गर्दा पर्वको खुसीमा कसैलाई पनि छुट्न नदिने सन्देश दिएको छ।
अभियानमा माेहन घर्ती मगर, सुरेश भुसाल, लोकेन्द्र बस्नेत, वीरबहादुर वली, इन्द्र खड्का, सागर रेग्मी, रेवती विक, रामबहादुर पौडेल, गोकर्ण पाैडेल ,पूर्णबहादुर बुढाथोकी र पलबहादुर वलीले सहयाेग गर्नुभएकाे थियाे ।
यी ‘सहयोगी मनहरू’ ले आफ्नो समय र स्रोत खर्चेर यो कार्य सम्पन्न गरेका हुन्। “तिहार भनेको उज्यालो र खुसी बाँड्ने पर्व हो। हामीले यो अभियानमार्फत समाजका कमजोर वर्गलाई समेट्न खोजेका हौं,” अभियानका एक अगुवा गोकर्ण पौडेलले बताउनुभयाे ।
यो पहलले तुलसीपुर वडा १९ मा सामाजिक सद्भाव बढाएको छ। विपन्न परिवारहरूले यो सहयोगलाई तिहारको विशेष उपहारका रूपमा ग्रहण गरेका छन्। अभियानले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रेरणा दिएको छ, जसले गर्दा ‘हुनेले दिने, नहुनेले लिने’ को भावना स्थानीय स्तरमा थप मजबुत हुनेछ।


