नेपालगञ्ज स्विमिङ क्लब बाँकेले राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबका अनुसार, ‘नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पिनसिप’ दोस्रो संस्करण आगामी कार्तिक १४ र १५ गते आयोजना हुनेछ ।
नेपालगञ्ज रंगशाला परिसरमा रहेको पौडी पोखरीमा आयोजना हुने उक्त प्रतियोगितामा देशभरिबाट दुई सयजना भन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी आयोजक क्लबका अध्यक्ष केशवराज न्यौपानेले दिए ।
उनका अनुसार, विद्यालय लक्षित प्रतियोगितामा ८ वर्ष, १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष उमेर समूहका अतिरिक्त खुला उमेर समूहमा पनि प्रतिस्पर्धा हुनेछ ।
कुनै संघसंस्था वा क्लबले संस्थागत रूपमा पनि प्रतियोगितामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको उनले बताए ।
प्रतियोगितामा ५६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । बाँकेबाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधिभर निस्शुल्क खाजा, खाना र आवासको व्यवस्था मिलाएको जानकारी क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले दिए ।
नेपाल पौडी संघले वार्षिक क्यालेन्डर अनुसार आयोजना गरिएकाले यो प्रतियोगिताका क्रममा बन्ने रेकर्डले पनि औपचारिक रूपमा मान्यता पाउने क्लबले जनाएको छ ।


