टोलको सुरक्षाका लागि ‘टोल सुधार समिति’ गठन

मनिकापुर / समाज सुधार र सुरक्षाका लागि टोल संस्थाहरूको महत्वपूर्ण भूमिका हुने कुरा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को एकीकृत टोलमा आयोजित ‘टोल सुरक्षा समिति’ गठन कार्यक्रममा सहभागीहरूले औंल्याएका छन्।

कार्यक्रममा वडाध्यक्ष माधव वलीले समाज सुधारमा टोलवासीहरूको सक्रिय सहभागिताको आवश्यकता रहेको बताए। उनले टोलको सुरक्षा र विकासका लागि दिउँसो होस् वा राति, सधैं सतर्कता र निगरानी बढाउनुपर्नेमा जोड दिए। वडाध्यक्ष वलीले समाजमा विभिन्न जातजाति र समुदायको बसोबास हुने भएकाले टोल विकासका लागि समावेशी कार्यशैली अपनाउनुपर्ने बताए। उनले टोलवासीहरूले एकजुट भएर सामाजिक सुधार र सुरक्षामा योगदान गर्नुपर्ने कुरामा विशेष ध्यानाकर्षण गराए।

कार्यक्रममा वेलझुण्डी प्रहरी विटका इन्चार्ज सौजन डागीले पनि समुदायको सहयोगबिना समाजमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न कठिन हुने बताए। उनले आम नागरिकलाई कानुनले निषेध गरेका गतिविधि र अपराधजन्य कार्यहरूमा निगरानी बढाउन र प्रहरीलाई सहयोग गर्न आग्रह गरे। डागीले टोल समितिहरूले प्रहरी र स्थानीय समुदायबीच समन्वयको पुलको रूपमा काम गर्न सक्ने बताए। उनले समाजमा शान्ति र सुरक्षा कायम गर्न स्थानीयको सक्रियता अपरिहार्य भएको उल्लेख गरे।

कार्यक्रममा अन्य वक्ताहरूले पनि टोल संस्थाहरूले सामाजिक एकता, सुशासन र समुदायको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। टोल समितिहरूले स्थानीय समस्याहरूको पहिचान गरी समाधानका लागि पहल गर्नुपर्नेमा उनीहरूले जोड दिए। सामाजिक सुधार र सुरक्षाका लागि यस्ता समितिहरूले समुदायमा जागरूकता फैलाउन र सहकार्यको वातावरण सिर्जना गर्न महत्वपूर्ण योगदान दिन सक्ने उनीहरूको भनाइ थियो।

यसै क्रममा, टोलको सुरक्षाका लागि रातको समयमा निगरानी गर्न टोल विकास संस्थाका अध्यक्ष विशेषन वलीको संयोजकत्वमा ११ सदस्यीय ‘टोल सुधार समिति’ गठन गरिएको छ। समितिमा विशाल परियार, धनिराम चौधरी, तारा बहादुर डाँगी, लक्ष्मी पुन, हिमकली घर्ति, नगेन्द्र पुन, तीर्थराज पुन, वसन्त वली, सुनिल अधिकारी र माधव पुन सदस्य रहेका छन्। यो समितिले टोलमा राति हुने गतिविधिमा निगरानी राख्ने र आवश्यक परेमा प्रहरीसँग समन्वय गर्ने जिम्मेवारी पाएको छ।

यो पहलले टोलमा सुरक्षा र सामाजिक सद्भाव बढाउने अपेक्षा गरिएको छ। स्थानीय समुदायको सक्रिय सहभागिताले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२ असोज २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस