चारलेनमा दुईलेनका पुलः ठेक्का लिने निर्माण व्यवसायी पनि काममा आएनन्

बिजौरी / घोराही–तुलसीपुर सडक चारलेनमा स्तरोन्नती गर्ने प्रक्रियासंगै यातायात विभाग पुल महाशाखाले यो क्षेत्रमा यस अघिनै निर्माण भएका र निर्माण हुन बांकि पुलहरुको करीव एक बर्ष अघि ठेक्का संझौता गर्यो । नेपालगन्जस्थीत पुल महाशाखा अन्तर्गत ठेक्का संझौता भयो । तर चारवटा पुलको ठेक्का संझौता भएकोमा एउटा पुल मात्रै निर्माण भैरहेको छ । तर नियगमनकारी निकायहरु भने यो विषयमा मौन छन् ।

निर्माण व्यवसायीहरुले ठेक्का संझौता त गरे तर काम सुरुआत गर्नकालागी मोविलाइजेशन पेश्की समेत पाउने अवस्था नदेखिएपछि काममा नआएको बताएका छन् । यद्धपि संगै ठेक्का भएको सेवारखोलामा भने अघिल्लै बर्षदेखि धमाधम चारलेन स्तरको पक्कि पुल निर्माण भैरहेको छ । तीन स्पानमा हुने पुलमा दुइवटा पिल्लर उठाउने काम सम्पन्न भैसकेको छ भने विद्युतले सो क्षेत्रमा पर्ने हाइटेन्सनको पोल अन्यत्र सारिदिन नसक्दा यो बर्ष फाउण्डेशनको सवै काम सम्पन्न हुन सकेन ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सेवारखोला, हापुरखोला, ग्वारखोला र कालाखोलामा चारलेन सडकलाइ समेट्ने गरी पुल निर्माणको ठेक्का संझौता समेत भैसकेको छ । हापुर खोला र कालाखोलामा चारलेन स्तरको पुरै पुल निर्माण गर्नुपर्नेगरी ठेक्का संझौता भएको छ भने ग्वारखोलामा दक्षिण तर्फ अर्को पुल थप्नुपर्ने छ । तर यी तीनै स्थानमा पुल निर्माणकालागी निर्माण व्यवसायी आएका छैनन् । बजेट अभावको विषयलाइ सडक विभाग माताहतको पुल सेक्टर परीयोजनाले पनि स्वीकार गरेको छ । ‘सेवारखोलासंगै अन्य चार स्थानमा पनि पुल निर्माणको संझौता भैसकेको हो, तर निर्माण व्यवसायीहरु काममा आउनु भएको छैन’ नेपालगन्जस्थीत पुल सेक्टरका प्रमुख डिइ आशिष थापाले भने । पुल निर्माणको ठेक्का भएपनि निर्माण व्यवसायीलाइ पेश्की स्वरुप मोविलाइजेशन पेश्की दिने समेत पैसा माथि बाट नआएको पनि डिइ थापाले स्वीकारे । ठेक्का भएका पुलहरुकालागी पनि पैसा नआएकाले निर्माण व्यवसायीहरुलाइ ताकेता गर्न र कानुनी कारवाहि गर्न नसकिएको पनि उनले स्वीकार गरेका छन् । तर माथि बस्ने अधिकारीहरुलाइ यहांको विवशता भने जानकारी छैन ।

स्तरोन्नती हुदाहुंदै बीचमै रोकिएको घोराही–तुलसीपुर चारलेन सडक पुनः ठेक्का प्रक्रियामा गएको छ । यस अघि भारतीय एक्जिम बैंकको ससर्त ऋणमा सडक स्तरोन्नतीको काम सुरु भएपनि निर्माण कम्पनीको लापर्वाहिका कारण बीचमै ठेक्का संझौता तोडिएको थियो । अहिले नेपाल सरकारकै मदन भण्डारी सडक मार्ग परीयोजना मार्फत यो सडक स्तरोन्नतीको ठेक्का भएको हो । संभवतः जेठ २५ गते निर्माण कम्पनीको अन्तिम छनौट भैसक्ने काठमाण्डौबाट प्रकाशित हुने राजधानी दैनिक पत्रिकाबाट जानकारी प्राप्त भएको छ जानकारी अनुसार असार पहिलो सातासम्म ठेक्का संझौता भैसकेर काम सुरु हुने अन्तिम तयारी छ । तर एक बर्ष अघि ठेक्का भएका चारलेन स्तरका पक्कि पुलहरुमा निर्माण व्यवसायी नआउदा सडक विभागका अधिकारीहरु भने वेखवर छन् । यसले सस्तो लोकप्रियताकालागी सयौं आयोजनाहरुको ठेक्का संझौता हुने र निर्माण व्यवसायीलाई भुुक्तानी गर्ने पैसा नहुने प्रबृत्तिले यी आयोजनाहरु अलपत्र अवस्थामा छन् । निर्माण व्यवसायीलाइ मात्रै तोकिएको समयमा काम गर्न सकेन भनेर दोष थोपर्ने भन्दा पनि पैसानै नदिने प्रबृत्तिका कारण काममा ढिलासुस्ती हुने गरेको आम निर्माण व्यवसायीहरुले बताएका छन् ।

यो अवस्थाले कतिपय आयोजनाहरुको ठेक्का आह्वान भएपनि निर्माण कम्पनी कसैले पनि ठेक्का नहाल्ने समेतको अवस्था देखिएको निर्माण व्यवसायी महासंघ लुम्विनी प्रदेशका अध्यक्ष वलीभद्र रानाले बताए ।

अहिले बन्दै गरेको सेवारखोला पुलका निर्माण कम्पनीलाई पनि सरकारले मोविलाइजेशन पेश्की रकम उपलव्ध गराउन सकेको छैन । निर्माण कम्पनी आफ्नै लगानीमा यहां सम्म काम गर्दै आएको निर्माण कम्पनीका अधिकारीले बताएका छन् । करीव २३ करोड रुपैया ठेक्का संझौता भएको सो पुल निर्माणकालागी आवश्यक नियमानुसारको पुरै पेश्की उपलव्ध गराउन नसकिएको पुल सेक्टरका डिइ आसिस थापाले बताए । ‘सेवार पुलका निर्माण व्यवसायीले केहि मात्रै मोविलाइजेशन पेश्की लिनुभएको छ, पुरै बजेटनै आएको थिएन’, इन्जिनियर आशिशले भने । काम गर्दै गर्नुस पैसा आउदै गर्छ भनेर आफुहरुले निर्माण व्यवसायीलाइ आश्वस्त पार्दे सेवार खोलामा करीव करीव फाउण्डेशनको काम यसै बर्ष अघि गरीसकेको बताए ।

तर घोराही–तुलसीपुर सडक खण्डमा रहेको हाइटेन्सनको पोल हटाउन ढिलासुस्ती हुदा एउटा पिल्लर उठाउने काम भने नभएको उनले बताए । ‘विद्युतले चाडै पोल सारिदिएको भए सायद असार अघिनै सवै फाउण्डेशनको काम सम्पन्न भैसक्थ्यो, तर विद्युतको ढिलासुस्तीका कारण एउटा पिल्लर उठाउन बांकि रहेको छ’, पुल सेक्टर प्रमुख थापाले भने । पुल ठेक्का संझौतामा विद्युत पोल सार्नकालागी आवस्यक रकम सडक विभागले उपलव्ध गराउने र त्यसमा प्राविधिक सहयोग भने विद्युत कार्यालयले उपलव्ध गराउनु पर्ने संझौतामा उल्लेख छ । तर पोल सार्ने पैसा हुदाहुदै पनि विद्युतले पोल सार्न ढिलासुस्ती गर्दा हरेक विकाश निर्माणका प्रक्रियामा अवरोध सृजना हुने देखिएको छ ।

–साक्षी खबर पत्रिकावाट

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस