दन्केको आगोको रापमा निरिह राज्य

बिज्ञान र प्रविधिले विश्वलाई साँघुरो बनाएको छ । हरेक क्षेत्रमा नयाँ नयाँ प्रविधि तथा यान्त्रिकरणमा जोडिएको छ । तर घोराही उपमहानगरपालिका–९ मा जलिरहेको खैराले नयाँ प्रविधि पाएन, पायो त उहि दम्कल, चुहिने ट्यांकर, गाँउलेका गाग्रा अनि सेना, ससस्त्र र नेपाल प्रहरीको जोरवल मात्रै । एक रात एक दिन सम्म जलिरहेको खैरालाई शान्त पार्न र दन्केको आगो नियन्त्रण गर्न संघिय सरकारले आफ्नो दायित्व स्मरणनै गरेन । अनि निरीह बने, स्थानिय सरकार, स्थानिय प्रहरी, स्थानिय सुरक्षानिकाय र स्थानिय प्रशासन् ।

‘प्रमुख जिल्ला अधिकारी मार्फत संघिय सरकारलाइ आगो नियन्त्रण गर्न अर्थपुर्ण सहयोगको माग गर्नुपथ्र्यो, र संघिय सरकारले आपतकालिन रेस्क्यु गर्नुपथ्र्यो, तर यस्तो अवस्था देखिएन’ तुलसीपुर उपमहानगरपालिका–१९ का स्थानियबासी टेकवहादुर वलीले भने । राज्य हुदोहोत, दम्कलकै भर कुरेर चौविस घण्टा विताउनुपर्ने थिएन । यस्ता अनुभुति जिल्लाका अधिकांश नागरिक अगुवाहरुको रहेको छ । आधुनिक विज्ञानले कुन बस्तु जल्दा कुन रसायनले निभाउन सक्छ भन्ने अवश्य आविस्कार गरेको छ । आधुनिक फायर फाइटरहरु हुन सक्छन् । आगो तत्काल नियन्त्रण गर्ने विभिन्न ग्यासहरु पनि प्रयोग हुन सक्थे, तर स्थानिय सुरक्षा निकायले भने परम्परागत शैलिका दमकल मात्रै प्रयोग गरिरहे । ‘एउटा दम्कलको पानी सकिदा थोरै कमजोर भएको आगो अर्को दम्कल भरिएर आइपुग्दा फेरी उस्तै दन्किन पुग्थ्यो’, जुन प्रविधि यो आगजनीमा कामयाव हुन सकेन, नजिकैबाट आगजनी नियालीरहेका स्थानिय नविन केसीले भने ।

खैराको गणपति भेनियर तथा सांग्रिला प्लाई उद्योग सोमबार जलेर खरानी भयो । आगलागी भएको २४ घण्टासम्म पनि आगो पूर्णरुपमा नियन्त्रणमा आउन सकेन । आठवटा दमकल, आधा दर्जन जेसीवी, दुई सय बढी सुरक्षा निकायका जनशक्ति, स्थानीयबासी खटेरै अग्नि नियन्त्रणको प्रयास गरे । बिहान करिब १ बजेको समयमा भएको आगलागीका कारण मेसिनरी औजार, प्लाई बनाउन प्रयोग हुने काठलगायतका कच्चा पदार्थ र बनेका प्लाई तथा उद्योगको भौतिक संरचना जलेर नष्ट भएको छ ।

क्षतिको एकिन नभए पनि करोडौंको क्षति सोमबारको आगलागीमा भएको छ । जिल्लामा अग्नि नियन्त्रणको पूर्वाधारको अभाव यस पटकको आगलागीबाट मात्रै होइन आगलागी नियन्त्रणका उपकरणको अभाव हरेक वर्ष खट्किरहन्छ । तर पूर्ति गरिदैन । जिल्ला विपत् व्यवस्थापन समिति आगलागी नियन्त्रणको सवालमा सफल हुन सकेन । विपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘आगजनी नियन्त्रण गर्न आवस्यक पुर्वाधारको अभाव देखियो । तर पनि नागरीकहरुको आग्रहमा तत्काल छिमेकी जिल्लाका सबै प्रमुख जिल्ला अधिकारीहरुलाई समन्वय गरेर बाके तथा कपिलवस्तुसम्मबाट दम्कल मगाएको उनले बताए ।

अन्दाजी बिहान १ बजेतिर उद्योगमा आगलागी भएको भन्ने सूचना प्राप्त भएअनुसार दुई बजेतिरैबाट सुरक्षा निकाय र वनको सुरक्षा दस्तालाई पनि परिचालन गरियो, तर नयां प्रविधि खोज्ने प्रयास गरीएन । या संघिय सरकारले यसलाइ सामान्य रुपमा लियो? यो एकिन हुन भने बांकि छ । तर पनि छ्याप्छ्याप्ती समाचारहरु विश्व समुदायसम्म पुगिसक्दा पनि संघिय सरकारले यसमा कुनै पनि चासो नदेखाएको भने सत्य हो ।

त्यसो त सरकार जनताका विपतमा निरिह छ भन्ने कुरा त गएको बर्षातमा आएको बाढिले राजधानीको वल्खु खोला किनारामै एउटा कच्चि घरको छतमा बसेर बचाउ वचाउ भनेर घण्टौं प्राणदान मागिरहंदा पनि नजिकै रहेको गृहमन्त्रालयले एउटा हेलिकोप्टर लगेर ती नागरिकलाई बचाउने हिम्मत समेत गरेन । त्यतिवेलैदेखि नागरिकका समस्यामा लाचार भएको थियो सरकार । नागरीकहरुले यो विषयमा थुप्रै आलोचनात्मक टिप्पणीहरु पनि गरे । तर सरकार कानमा तेल हालेर मौन बसिदियो । यहि कारण पनि सरकारप्रतिको नागरिक विश्वासमा निकै कमि आउन थालेको छ । नागरिक अगुवाहरु भन्छन्, ‘यो जनताको सरकारनै होइन, सत्ता टिकाउने नेताहरुको व्यवस्थापन चौतारो मात्रै हो ।’

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालको अध्यक्षतामा फागुन २३ गते बसेको बैठकले गर्मी मौसम शुरुसँगै आगलागी तथा वन डढेलो, हावाहुरी, चट्याङ्, सर्पदंश जस्ता विपत्जन्य घटनाहरु हुने सम्भावनालाई मध्यनजर गर्दै सो बाट बच्न बचाउन तथा नियन्त्रणका लागि विभिन्न काम गर्ने योजना बनायो । जसमा आगलागी नियन्त्रणका लागि हाल जिल्लामा रहेका सबै दमकलहरुलाई तयारी अवस्थामा राख्ने र अध्यावधिक गर्ने पनि निर्णय भएको थियो । खैरास्थित उद्योगमा आगलागी हुँदा गढवाको दमकल घटनास्थल पुग्न सकेन । गढवाको दम्कल विग्रिएको छ । अन्य पालिकाका दम्कलले मात्र भ्याएनन्, अनि झिकाउनुपर्यो छिमेकि जिल्ला बाँके, कपिलवस्तु र बर्दियाबाट । पाँचवटा जेसीवीको प्रयोगले चेन ब्रेकको काम पनि गरिएको थियो ।
कसरी भो यतिठुलो आगजनी

यति धेरै लगानीको उद्योगमा विद्युत सर्ट भएर कसरी आगो फैलियो? भन्ने विषयमा आवस्यक छानवीन र जानकारी पनि दिने सरोकारवाला निकायहरु मौन छन् । विद्युत सर्किटहरुको अवस्था कस्तो थियो? कति क्षमताको विद्युत कसरी प्रयोग गरीएको थियो? आगजनीका वेला उद्योगका चौकिदारहरु कहा थिए । फायर ग्यासहरु उद्योगको तर्फबाट उपयोग गरियो वा गरीएन? यि यावत प्रश्नहरु आम नागरीकहरुमाझ उव्जिएका छन् । तर यो विषयमा अझै सम्म पनि अध्ययन, अनुसन्धान एवं छानवीन समिति बन्न सकेको छैन ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस