विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक, निरुता वली प्रथम

तुलसीपुर – पूर्व विद्यार्थी समाज, मावि भित्री सक्रामको आयोजनामा माघ २५ गते सम्पन्न विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ।

प्रतियोगितामा कक्षा ८ की छात्रा निरुता वली प्रथम, कक्षा १० की छात्रा जानका खड्का दोस्रो, कक्षा ९ की छात्रा दिनिता पुन तेस्रो, तथा कक्षा ९ कै छात्रा ममता रोका मगर सान्त्वना पुरस्कार विजेता बनेका छन्।

विद्यार्थीहरूको सिर्जनशीलता, अभिव्यक्ति क्षमता तथा लेखनकला अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न कक्षाका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम पूर्व विद्यार्थी समाज, मावि भित्री सक्रामका अध्यक्ष डिल्ली बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने तुलसीपुर उपमहानगरपालिका–१८, बिजौरी निवासी नबिना केसी (ओली) प्रमुख अतिथि रहनुभएको थियो। पुरस्कारको विशेष आर्थिक सहयोग नबिना केसी (ओली) ले गर्नुभएको थियो।

कार्यक्रम सञ्चालन पूर्व विद्यार्थी समाजका उपाध्यक्ष गणेश बहादुर ओली ले गर्नुभएको थियो। कार्यक्रममा पूर्व विद्यार्थी समाजका सल्लाहकारहरू डङ्क बहादुर वली, रेवती प्रसाद बस्नेत, दामोदर न्यौपाने, मीन बहादुर पुन, मावि भित्री सक्रामका प्रअ भिबिसन रोका मगर, मावि किटिचौरका प्रअ टङ्क बहादुर केसी, शिक्षक भागवत बस्नेत, निबन्ध प्रतियोगिता कार्यक्रम संयोजक मान बहादुर थापा, साथै मिलिजुली सरसफाई समिति बिजौरीकी उपाध्यक्ष मालता केसी र सदस्य पहलमान रावत को पनि उपस्थिति रहेको थियो। उनीहरूले प्रतियोगिताको उद्देश्य र यसको महत्वबारे शुभकामना मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको लेखनकला सुधार्न टेवा पुग्ने बताए।

प्रतियोगिताका विजयी छात्राहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो। प्रथम पुरस्कार रु १५००, दोस्रो पुरस्कार रु १०००, तेस्रो पुरस्कार रु ७००, र सान्त्वना पुरस्कार रु ४०० रहेको थियो। आयोजक समितिले विजयी छात्राहरूलाई भविष्यमा अझ उत्कृष्ट लेखन सिर्जना गर्न प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने जानकारी गराएको छ।

कार्यक्रमका प्रायोजक नबिना केसी (ओली) लाई आयोजक समितिले विशेष धन्यवाद दिँदै यस्ता योगदानहरूले विद्यार्थीहरूलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस