बेलाबेला किन ‘डाउन’ हुन्छ इसेवा ?

काठमाडौं । भुक्तानी सेवा प्रदायक वा डिजिटल वालेट इसेवामा पछिल्लो केही दिनयता बेलाबेला समस्या देखिने गरेको छ । मंगलबार साँझ पनि इसेवामा समस्या आएको थियो ।

इसेवामा एप नै नखुल्ने, भुक्तानी नहुने, भुक्तानी प्राप्त गर्न नसकिनेजस्ता समस्या देखिने गरेको छ । यस समस्यालाई लिएर प्रयोगकर्ताहरूले गुनासोसमेत गर्ने गरेका छन् ।

पछिल्लो एक सातादेखि इसेवामा यस्तो समस्या बढेको छ । इसेवाको मुख्य कम्पनी एफवानसफ्ट ग्रुपका निर्देशक सुवास शर्माले ‘लोड बढ्दा’ सेवा प्रवाहमा समस्या भइरहेको बताए ।

“साँझ ६ देखि ९ बजेकोबीचमा इसेवामा कारोबारको लोड बढेर समस्या देखिएको छ । पछिल्लो एक साता यस्तो समस्या अलि बढी भएको छ,” निर्देशक शर्माले भने ।

यो समस्या समाधानका लागि प्राविधिक टिमले काम गरिरहेको उनले बताए । “साँझको समयमा प्रयोगकर्ताको लोड बढी भएर क्यूआरबाट भुक्तानी गर्दा यस्तो भइरहेको छ । आवश्यक रिसोर्स समस्या समाधान गर्ने काम भइरहेको छ,” शर्माले भने ।

प्लेस्टोरमा मात्रै एक करोडभन्दा बढी डाउनलोड्स रहेको इसेवा नेपालको सबैभन्दा पुरानो र प्रमुख डिजिटल वालेट हो ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस