
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताह—२०८१ को समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले अहिले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्ने कुरा अहिले मौकाको रूपमा रहेको बताउनुभयो ।
महामन्त्री थापाले कृषि विधेयकमा अहिले मन्त्रालयले काम गरिरहेको उल्लेख गर्दै माघको २० गतेसम्म संसदमा दर्ता गर्ने तयारी गरिएको बताउनुभयो । अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुनहरु बनाए पनि मुल कानुन बनाउन नसकिएकाले अब बन्ने कानुन कृषिको मुल कानुन हुने जानकारी दिनुभयो ।कृषिको मुल कानुन बनाउन नसक्दा कृषिले गति लिन नसकेको बताउनुभयो ।
रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण रुपमा हेरिनुपर्ने बताउनुभयो । ‘कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक हाम्रो लागि एउटा महत्त्वपूर्ण दस्तबेज बन्नसक्ने उहाँले बताउनुभयो । महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरु महत्त्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको बताउनुभयो ।