आचार्यकुलमको प्रथम साधारणसभा

तुलसीपुर । पतञ्जली योग शिक्षक समूहद्धारा सञ्चालित आचार्यकुलम दाङको प्रथम साधारणसभा तुलसीपुरमा शनिवार सम्पन्न भएको छ ।

कार्यक्रम आचार्यकुलमका सञ्चालक समितिका संयोजक दीपक बस्यालको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रमका वक्ताले समाजमा असल व्यक्ति उत्पादन गर्ने र समाज रूपान्तर गर्ने उद्देश्यले सञ्चालन भएको विद्यालयले आफ्नो उद्देश्य पूरा गर्न सकोस् भन्दै व्यवस्थापन समिति सकारात्मक नियतका साथ सहयोग गर्नुपर्ने बताएका थिए । आचार्यकुलमका प्रशासन प्रमुख एवम् प्रधानाध्यापक मिलन बुढाथोकीले एक वर्ष पहिलेदेखि सञ्चालनमा आएको विद्यालयको एक वर्षको गतिविधि प्रस्तुत गरेका थिए ।

पहिलो वर्षमै प्ले ग्रुपदेखि ६ कक्षासम्म सञ्चालनमा ल्याएको बुढाथोकीले जानकारी गराए । अहिले आचार्यकुलममा दुई सय २६ जना विद्यार्थी अध्ययनरत रहेको र १२ जना शिक्षक रहेको उनले बताए । सञ्चालक समितिका सदस्य टेकप्रसाद आचार्यले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सञ्चालक समितिका सदस्य दानबहादुर बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रह्लाद शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रको सहजीकरण योग शिक्षक केतनारायण आचार्यले गरेका थिए । कार्यक्रममा पतञ्जली योग समितिका लुम्बिनी प्रदेशका प्रभारी प्रेम शाह, तुलसीपुर उपमहानगरपालिका वडा नं.१० का अध्यक्ष ज्ञानबहादुर खड्कालगायतले विद्यालयले मानवभित्र पनि महामानव उत्पादन गर्नसकेको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ पुष २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस