जनप्रतिनिधि ढकाल र भण्डारी कृषिमा रमाउँदै

तुलसीपुर । पछिल्लो समय राजनीति गर्नेहरूको देश र जनताको लागि नभइ आफ्नो लागि मात्र काम गर्छन्, भन्ने आरोप लागि रहेको अवस्थामा दाङमा स्थानीय तहका केही जनप्रतिनिधिहरू यस्ता छन् । उनीहरूले राजनीतिसँगै कृषिकर्ममा पनि लागि रहेका छन् । बिहान १० बजेदेखि ४–५ बजेसम्म जनताको सेवामा र बाँकी साँझ बिहानको समयमा घरमै कृषिकर्म गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष धनश्याम ढकाल २०७४ र ७९ मा कांग्र्रेसबाट गरी दुई पटक निर्वाचित भए । उनले शुरुमा उन्नत जातको बाख्रा तथा गाई पालन गरेको भएयता करिब अढाइ वर्षदेखि व्यवसायिक रुपमा कालिज पालन गर्दै आएका छन् । यो पटक उनले ७ सय कालिजहरू पालेका थिए, भने अहिले २ सय जति बिक्री भएका छन्, भने ५ सय जति रहेको र यसबाट राम्रै आम्दानी हुने उनले बताए ।

उनले भने, ‘म किसानको छोरा हुँ ! मलाई कृषि गर्न निकै राम्रो लाग्छ । फेरि साँझ बिहानको समय सदुपयोग गरेको हु ! पहिला बोयर जातका बाख्रा र उन्नत जातका गाई पालेको थिए । त्यो सबै हटाएर अहिले कालिज, फाइटर तथा लोकल कुखुरा, लुइँचे पालिरहेको छु । यसमा धेरै मेहनत गर्नु पर्दैन । जसले गर्दा पनि मलाई यो राम्रो लागेको हो ।’ उनका अनुसार मासु खाने उद्देश्यले ३ वटा पोथी र २ वटा भाले कालिज ल्याएकोमा देख्दा पनि राम्रो लाग्यो । त्यहीबाट पालेर शुरु गरेको यो पटक ७ सय रहेकोमा २ सय जति बिक्री भएको उनले बताए ।

उनका अनुसार कालिजका बच्चा पनि आफैले उत्पादन गर्ने हुँदा सहज भएको छ । अहिले जोडीलाई ३ हजारमा दिने गरेको समेत उनले बताए । यो चिसो मौसममा कालिज निकै बिक्री हुने गरेको समेत उनले बताए । उनले भने, ‘विदेशमा राष्ट्रपति भएका ब्यक्तिहरू त कृषि लगायत अन्य काममा गरेको खबर सुनिन्छ । त्यसैले हामीले पनि आफ्नो आयआर्जनको लागि कुनै पनि काम गर्दा कुनै फरक पर्दैन । जनताको सेवासँगै आफ्नो बचेको समय सदुपयोग मात्र गरेको हुँ !’ कालिज पालनको लागि तारबार गर्दा अहिलेसम्म ३ लाख लगानी लागेको भन्दै उनले अझै बढाउने सोच रहेको पनि बताए ।

उनले भने, ‘दिनभर काम गरेर आउँदा कहिँले काहिँ बोर भएको हुन्छ । तर, यि चराचुरुंगीसँग रमाउन पाउँदा निकै आनन्द लाग्छ । जसले गर्दा २/४ पैसा आम्दानी पनि हुने, मन लागेको बेला मासु पनि खाने मिल्ने र आफूलाई पनि आनन्द महसुस हुने हुँदा यो शुरु गरेको हुँ ! गाई बाख्रा पालनमा भन्दा यसमा खासै दुख हुँदैन ।’ यस्तै आफू घरमा नभएको समयमा घरपरिवारले हेर्ने गरेको समेत उनले बताए । उनका अनुसार एक सिजनमा कालिजको पोथीले ७० देखि एस २० वटा अण्डा पार्ने रहेछ । सानो बच्चा हुर्काउने बेला मात्र समस्या हुन्छ, बाँकी चारो हाल्दिए पुग्छ । यसलाई कुनै रोग लाग्ने समेत नरहेको उनको भनाइ छ ।

उनले दाना घरमै बनाउने गरेको भन्दै कालिजले ७० प्रतिशत घाँस खाने र बाँकी चारो खाने हुँदा पनि दिनका पटक चारो दिए पुग्ने बताए । यस्तै उनले अहिले एउटा मात्र भैँसी पालेको भन्दै बिहानको दूध डेरीमा लैजाने गरेको र महीनामा १५/२० हजार आम्दानी हुने गरेको समेत बताए । यस्तै उनले नेपाल कृषि प्रधान देश भएयता पनि अहिले सबै युवाहरू विदेशतिर पलायन भइरहेको अवस्था रहेको बताए ।

उनले युवाहरू स्वदेशमा बस्ने राम्रो वातावरण नहुँदा र राज्यले पनि कृषिलाई प्राथामिकतामा राखेको भएयता पनि पहुँच र सत्ता शक्तिको भरमा अनुदान दिने गर्दा वास्तविक किसानहरूले नपाउने र विस्तारै कृषि पेशा हराउँदै गएको बताए । उनका अनुसार जिल्लामा कुनै समय उन्नत जातको गाईपालन र बाख्रा गर्ने लहर निकै चलेको थियो । तर, अहिले त्यो विस्तारै हराउँदै गइरहेको छ । मुख्य समस्या भनेको उत्पादन भएको बस्तु बिक्री नहुन र बिक्री भएमा राम्रो मूल्य नपाउनु नै हो ।

यस्तै शान्तिनगर गाउँपालिका ६ का वडाध्यक्ष शेर बहादुर भण्डारीले पनि गाई पालन गर्दै आएका छन् । २०७९ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका उनले पनि बिहान १० देखि बेलुका ४/५ बजेसम्म वडामा र त्यसपछि बाँकी गाईलाई स्याहारसुसार गर्दै कुटानी पिसानी मिलमा समय दिने गरेका छन् । आफू किसानको छोरो भएको हुँदा यस्तो काम गर्न कुनै समस्या नहुने उनको भनाइ छ ।

उनले भने, ‘राजनीति गर्ने भनेका धेरै किसानहरू नै हुन् । आज म वडाध्यक्ष भए भन्दैमा आफूले गर्दै आएको काम छोड्नु भएन । मेरो अहिलेको काम भनेको जनताको सेवा गर्ने हो ? बाँकी साँझ बिहानको समयमा घरको काम गर्ने हो ।’ उनले अहिले आफू ५ वर्षको लागि मात्र जनप्रतिनिधि भएको भन्दै आफूले वर्षौदेखि गर्दै आइरहेको कृषि पेशालाई भुल्न नसक्ने समेत बताए । उनले भने, ‘म बिहान ४ बजे उठ्छु । गाईबस्तुलाई दाना पिरो दिएर दूध दुहेर डेरीको लागि दिन्छु । त्यसपछि मिलमा गएर भाइलाई सहयोग गर्छु । त्यसपछि १० बजेदेखि ४/५ बजेसम्म जनताको सेवा खट्टिन्छु ।’

यस्तै आफ्नो जग्गा कम हुँदा जमिनदारहरूको जग्गा अधिमा लगाउन मिल्ने भएकाले बुवाले २०४८ सालतिर गाउँकै जमिनदारको खेत माग्दा आफू त्यो बेला नेकपा एमाले पार्टीमा लागे हुँदा उहाँले कम्युनिष्टलाई खेत दिन्न भन्दा निकै दुख लागेको थियो । त्यसै कुराले उनलाई जोत्नको लागि आफ्नो जग्गा आफै बनाउनु पर्छ, भन्ने लाग्यो अहिले पनि कृषि क्षेत्रमा काम गरिरहेको बताए । यस्तै उनले हिजो जनप्रतिनिधि नहुँदा वडा सरकारबाट विकास निर्माणको धेरै आस गर्ने गरेको भएयता पनि अहिले आफू जनप्रतिनिधि भएर त्यो ठाउँमा जाँदा सोच जस्तो नहुने समेत बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस