विदेशिदै पुरुषहरुः स्वदेशमै रोजगार सृजना गर्दै महिलाहरु

तुलसीपुर । पुरुषहरु धमाधम बैदेशिक रोजगारमा गैरहेका वेला महिलाहरुले भने स्वदेशमै केहि गर्न सकिन्छ भनेर गतिलो व्यवसायीक उदाहरण देखाउन थालेका छन् । कतार र दुवइमा गएका पुरुषहरुले कमाउने भन्दा बढि कमाइ गरेर महिलाहरु स्वदेशमै रोजगार सृजना गरेर उदाहरणिय बनेका छन् ।

जुनकुमारी बुढा उमेरले पैतिस बर्ष पुगिन् । सानै उमेरदेखि व्यवसायीकतामा जोडिएकि जुनकुमारीको अहिले पनि सक्रिय व्यवसायीकतामा जोडिएकि छिन् । तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीकी ३५ वर्षिय जुनकुमारी बुढाले विगत १८ वर्षदेखि क्रिष्टल सम्बन्धीका गहना निर्माण गर्दै आएकी छिन् । आफू १७ वर्ष हुँदा नै सिकेको सिपलाई उनले व्यवसायिक रुपमा अंगालेकी छिन् । रुकुम घर भएकी जुनकुमारी हाल तुलसीपुरमा बसेर यो व्यवसाय संचालन गरिरहँदा स्थानिय २३/२४ जना महिलालाई रोजगारी समेत दिएकी छिन् ।

चाडपर्व तथा सिजनको समयमा मासिक एक डेढ लाखसम्म आम्दानी गर्न सक्ने जुनुले बताउँछिन् तर बेसिजनको समयमा पनि मासिक २०/२५ हजार कतैे नजाने उनको भनाइ छ । घरको सबै काम भ्याएर फुर्सदको समयमा उनले अरुलाई चुरा ,पोेते, माला का विभिन्न डिजाइनहरु बनाउन जानेकी उनले आफूसँग आउने सबै महिलाहरुलाई सिकाउने समेत गर्छिन् । ‘सानैदेखि आर्थिक अभावमा हुकिएकी म यो व्यवसायमा लागेपछि आफूलाई आवश्यक पर्ने सानातिना समस्या समाधानका लागि आर्थिक अभाव छैन। छोराछोरी पढाउन, घरखर्च चलाउनका लागि श्रीमानसँग हात फैलाउन पर्दैन भने आफैँ आत्मनिर्भर छु , २३/२४ जनालाई रोजगारी पनि दिएकी छु’ उनले भनिन् । साँझ विहान घरभान्साको काम सकेर छोराछोरीलाई स्कुल पठाइसके पछि बचेको दिनभरीको समय सदुपयोग गर्दै माला पोतेहरु बुनेर आम्दानीको बाटो बनाएकी जुनकुमारीले आफूले बनाएका सामग्री काठमाडौँ देखि धनगढीसम्म विक्री गर्ने गरेको बताइन् ।

मलाई यस्तो डिजाइन्को माला बुनेर पठाइदिनुस् भन्नुहुन्छ । मैले सामान रेडि बनाएर पठाउँछु, श्रृंगार पसल देखि सुन पसल सम्मका पोते, मंगलसुत्र, नौगेडी माला बुन्ने देखि फिनिसिङका काम मलाई आफैँ अडर आउँछ।’ उनले भनिन ‘तर मैले बनाएका सामान जिल्लाभित्र अर्थात दाङमा खासै विक्री हुँदैन, समस्या यही छ ।’ बजारीकरणका लागि जिल्ला भित्र भन्दा बाहिरको मार्केट राम्रो रहेको उलने बताउँछिन् ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका ७ पर्सेनीका जुनु गिरी उमेरले अहिले २० वर्षको भइन् । जुनुले महिलाले लगाउने विभिन्न थरिका चुरा, पोते, कानमा लगाउने टप, औँठी जस्ता क्रिष्टलजन्य गहना बनाउँछिन् । स्नातक तह प्रथम वर्षमा अध्ययन गरिरहेकी जुनुले पढाईलाई निरन्तरर्ता दिदै भविष्यमा क्रिष्टलका सागम्री बनाउने एक उद्यमी बन्ने लक्ष्य लिएकी छिन् । ‘अहिले स्नातक प्रथम वर्षमा पढिरहेकी छु, विभिन्न डिजाइनका मालाहरु बनाउन सिके अव मैले पढाईसँगै बचेको समयलाई यही काममा दिनेछु’ उनले भनिन् ।

दाङ हस्तकला संघले उनलाई क्रिष्टलजन्य गहना बुन्ने तालिम दिएपछि उनी यो पेशामा आवद्ध भएकी हुन् । यस्तै तुलसीपुर ७ कै खिमा बुढाथोकीसँग पनि जुनुुको जस्तै सीप छ । उनले पनि जुनुसँगै तालिम लिइन् । तालिम पछि यही चुरा पोते बनाउने पेशालाई व्यवसायिक रुपमा अगाडि बढाउने सोच उनको छ । ‘हातमा भएको सीपलाई सदुपयोग गर्दै केही आर्थिक रुपमा आयआर्जन गर्ने बाटो बनाउने मेरो सपना छ’ उनले भनिन– ‘आफैँ कमाउने भएपछि श्रीमानको भर पर्नु पर्दैन । घरमै कसेर फुर्सदको समयमा गर्न सकिने काम रहेछ।’ तुलसीपुर बजारका कस्मेटिक व्यवसायी जिल्लाबाहिरको भरमा चलिरहेका छन् भन्ने आफूले सुनेको भन्दै उनले हातले बनाइएका चुरा पोतेहरु बनाएर तुलसीपुरमा हुने चुरा, पोते, मालाहरुको मागको पूर्तिका लागि उद्योग खोलेर बस्ने चाहना उनको पनि छ । दाङ हस्तकला संघको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका–७ र हस्तकला महासंघ काठमाडौँको आर्थिक सहयोगमा तुलसीपुर –७ का महिलालाई क्रिष्टल सम्बन्धि गहना बुन्ने १० दिने तालिम दिइयो । यहि मंसिर ७ गतेदेखि १६ गतेसम्म संचालन भएको तालिममा ती महिलाहरुले सामान्य पोते बुन्ने देखि लिएर विभिन्न डिजाइनका कानमा लगाउने टप, हातका औँलाका लगाउने औँठी, घाँटीमा लगाउने माला, नौगेरी मालाका डिजाइनहरु सिके । उक्त तालिममा सहभागी भएर यो सीप सिकेसँगै जुनु र खिमा जस्ता तुलसीपुर ७ का १७ जना महिलाहरुले क्रिष्टलबाट गहना बनाउन जानेका छन् ।

अव उनीहरु यही सिपलाई व्यवसायिक रुपमा अगाडि बढाउने सोचमा छन् । भने जनताको नजिकको सरकार वडा सरकार र दाङ हस्तकला संघ उनीहरुको साथमा रहने प्रतिबद्धता जनाएका छन् । दाङ हस्तकला संघका अध्यक्ष अशोक थारुले आफ्नो पहलमा तालिम सिकेको महिलाहरुलाई सिकेको सिपलाई व्यहारका कार्यान्वयन गर्न आग्रह गर्दै बजारीकरणमा समस्या भए आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘अहिलेको समय त डिजिटल जमाना छ । सबैको हातहातमा एनरोइड मोबाइल छ । मोवाइलको प्रयोग गरेर पनि विभिन्न किसिमका सिपहरु सिक्न सकिन्छ । अझै धेरै सीपको आवस्यकता परेमा फेरी आफूहरुलाई सम्झिएमा थप तालिमको पनि व्यवस्थापन गर्न सकिन्छ । संगसँगै स्थानिय सरकार, स्थानिय व्यवसायी, उद्योग वाणिज्य संघ सबैको भूमिका हुने छ ।’ उनले भने ।

यता तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीले आफ्ना वडामा महिलाहरुलाई समृद्ध बनाउने योजनाका साथ लागिरहेको बताए। पहिलो चरणमा क्रिष्टलका गहना बुन्न सिकेका महिलाहरुको साथमै रहने भन्दै आफ्नो वडा भित्र पनि विभिन्न स्थानमा सार्वजनिक जग्गाहरु रहेकाले त्यही जग्गामा उद्योग संचालनका लागि पहल गर्ने बताए ।

यसैविच दाङको तुलसीपुरमा भएको क्रिष्टल (चुरा, पोते) सम्बन्धि गहना बुनाइ सम्बन्धि १० दिने तालिमको विहिबार समापन गरिएको छ । तालिम समापण समारोहमा बोल्ने वक्ताहरुले तालिममा सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका छन् । तालिम सिकेर प्रमाणपत्रले मात्रै केही नहुने भन्दै सीपलाई व्यवहारमा लागु गरेमा आर्थिक रुपमा सक्षम बन्न सकिने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नंबर ७ का वडा अध्यक्ष राम बहादुर जिसीले सीप सिकाएर महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि तालिमको दिइएको बताए । खाली रहेका दिदीबहिनीलाई सीप सिकाएर आत्मनिर्भर बनाएपछि व्यक्तिगतसँगै घरपरिवार, समाज र वडाको पनि समृद्धि हुने उनले बताए । उनले भौतिक विकास मात्रै नभएर मानवीय विकासको पनि आवश्यकता हुने भएकाले तालिम मा सिकेका सीपलाई अव आयआर्जन गर्नतर्फ लाग्न महिलाहरुलाई आग्रह समेत गरे । यस्तै विशिष्ट अतिथि– ७ का निवर्तमान वडा अध्यक्ष टोप बहादुर केसीले तुलसीपुरमा सौन्दर्य तथा कस्मेटिक सामग्री सबै बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेकाले स्थानिय स्तरमै त्यस्ता सामग्री उत्पादन गर्ने जनशक्ति आवश्यकता रहेको बताए ।

त्यही आवश्यकतालाई परिपूर्ति गर्नका लागि ध्यान दिएर मेहनतका साथ तालिम सिकेर स्थानिय स्तरमै व्यवसायिक रुपमा क्रिष्टलका सामग्री निर्माण गरेर व्यवसायिक रुपमा अगाडि बढ्न सुझाव दिए । तालिमका सिकेको सीपलाई व्यवहारमा कार्यावयन गरेर आत्मनिर्भर हुने र रोजगारीमा लागेर आर्थिक, सामाजिक रुपमा आत्मनिर्भर बन्न उनले सुझाव दिए । काठमाडौँका उपाध्यक्ष तथा जिल्ला एवम् प्रदेश परिषद्का सभापती दिपेन्द्र शाक्यले सामान मात्रै बनाएर नहुने भन्दै बजारीकरणको तालिम पनि चाहिने भएकाले आवश्यक परेमा थप तालिमको पनि व्यवस्थापन गरिने बताए । राष्ट्रिय स्तर मा मात्रै नभएर यस्ता हस्तनिर्मित मालाहरु अन्तराष्ट्रिय बजारमा बजारीकरणको सम्भावना राम्रो रहेकाले अन्तराष्ट्रिय स्तरसम्म पु¥याउन आवश्यक पहल गर्ने बताए । आफूहरुले समय–समयका अन्तराष्ट्रिय बजारमा नेपाली समुदायले निर्माण गरेका हस्तकलाका सामग्री निर्यात गर्दै आएको अवगत गराए ।

दाङ हस्तकला संघको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नंबर ७ र नेपाल हस्तकला महासंघ काठमाडौँको १ लाख २५ हजार आर्थिक सहयोगमा तालिमको आयोजना गरिएको हो । मंसिर ७ गतेदेखि १६ गतेसम्म संचालन भएको तालिममा ७ नंबर वडाका १७ जना महिलाहरुको सहभागिता रहेको थियो । दाङ हस्तकला संघका अध्यक्ष अशोक थारुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हस्तकला महासंघ काठमाडौँका निवर्तमान अध्यक्ष सुरेन्द्रभाइ शाक्य, प्रशिक्षक श्रीकुमारी चौधरी, प्रशिक्षार्थी चेतना गौतम लगायत शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस