तुलसीपुर–घोराही सडक अवरुद्ध

बिजौरी । दाङमा टिप्परको ठक्करबाट एक जना मोटरसाइकलका चालकको मृत्यु भएपछि दोषीलाई कारबाही र उचित क्षतिपुर्तिको माग गर्दै तुलसीपुर– घोराही सडक अवरुद्ध भएको छ । पीडितका आफन्तहरूले तुलसीपुरको बिजौरीमा कारबाही र उचित क्षतिपुर्तिको माग राख्दै बिहान साढे ९ बजेदेखि सडक अवरुद्ध पारेका हुन् ।


सोमबार साँझ घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका १० झारबैरा चोकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका १९ कुटीचौरका १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको थियो ।


टिपरको ठक्करबाट गम्भिर घाइते भएका बुढाथोकीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यस्तै मोटरसाइकलको पछाडि सवार तुलसीपुर १७ का २२ वर्षीय दीपक बस्नेत भएका छन् ।


घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १२९१ नम्बरको टिपरले सोही दिशामा जाँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । प्रहरीले टिपर चालक घोराही ११, डोक्रेना बस्ने ४० वर्षीय जितबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको जनाएको छ ।


यस्तै सडक अवरुद्ध गरेपछि वैकल्पिक बाटो प्रयोग गरेर सवारी साधनहरूलाई गन्तव्यमा पठाइएका र सडक खुलाउने विषयमा पहल भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस