आर्थिक विकासका लागि लगानी खोज्दै लुम्बिनी सरकार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरूमा लगानी भित्र्याउन दातृ निकायहरूसँगको छलफललाई अगाडि बढाउनु भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटिस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसँग छलफल गर्दै प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरूमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गर्नुभयो ।

उहाँले सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनाहरूमा साझेदारी गर्न अनुरोध गर्नुभएको छ । प्रदेश राजधानीलाई हरित र नदी सभ्यतामा आधारित नमुना सहर बनाउन लगानी चाहिएको जानकारी गराउँदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न आग्रह गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताउनुभयो । प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी सहर निर्माण, शिवपुर र कालाकाटे सुरुङ मार्ग, बौद्ध सर्किटमा मोनो रेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजनाहरू अघि बढाउन सक्ने गरी लगानीको क्षेत्रहरूको बारेमा जानकारी गराएको छ । प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी बोर्डसँग पनि निरन्तर छलफल गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस