घोराही– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वस्थकर बुढ्यौलीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना एवं विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेको अध्यक्षता एवं ज्येष्ठ नागरिक सरोकार केन्द्रका संस्थापक नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि शर्माले प्रविधिको विकास र समग्र भौतिक विकासको फड्कोसँगै मानवीयताको भने खडेरी लाग्न थालेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । विकसित देशमा पनि मानवीयताको कमी महसुस हुँदै जान थालेको उल्लेख गर्दै उहाँले समग्र विकासले नै मानव जीवन सहज हुने बताउनुभयो ।
‘भौतिक र प्राविधिक सबै विकास भइरहेको नै छ तर मानव विकासको अवस्था भने बिग्रदो अवस्थामा छ’– उहाँले भन्नुभयो– ‘विकसित देशमा पनि मानवीयताको कमी भएको देख्छु म ।’ कार्यक्रममा सहभागी चिकित्सकलाई सुझाव दिदै उहाँले सेवा प्रवेशको बेला गरेको प्रतिबद्धता सेवामा लागु गरे मात्रै पनि बिरामीलाई राहत हुने बताउनुभयो । ‘डाक्टरको बोली नै औषधि हुन्छ’– उहाँले भन्नुभयो– ‘नम्र, मिठो बोली र मानवतावादी व्यवहारले बिरामी आधा निको हुन्छ ।’ शर्माले कानुनीरुपमा र कागजी रुपमा सम्पूर्ण पूरा भएको भए पनि व्यावहारिकरुपमा प्रशस्त कमजोरी भएको बताउनुभयो । हक अधिकार लगायतका सवालमा राज्यले नागरिकप्रति निभाउनुपर्ने दायित्व पूरा गर्न नसकेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष हरिप्रसाद पाण्डेयले ज्येष्ठ नागरिकलाई ऐन कानुनले दिएको सुविधा पनि राज्यले व्यवहारमा दिन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले औषधि उपचार, भाडालगायतमा ५० प्रतिशत सहुलियत काजगमा मात्रै भएको बताउनुभयो । कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञाज प्रतिष्ठानका ज्येष्ठ नागरिक रोग विशेषज्ञ एवं कार्यक्रम संयोजक डा. रमेश कँडेलले अस्पतालमा उपचार गराउने ज्येष्ठ नागरिक धेरै भए पनि धेरै अस्पतालले छुट्टै ओपीडी सञ्चालन नगरेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
‘मन्त्रालयको नीति अनुरूप ५० शैया भएका अस्पतालमा जेरियाट्रिक ओपीडी सञ्चालन र एक सय शैयाको अस्पतालमा जेरियाट्रिक र अन्तरंग विभाग दुबै प्रदान गर्नुपर्छ’– उहाँले भन्नुभयो– ‘ज्येष्ठ नागरिक वार्ड संचालन कार्यक्रममार्फत नेपालभर ६१ अस्पताललाई बजेट भए पनि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठासहित केहीले मात्रै सेवा दिएका छन् ।’ उहाँले प्रतिष्ठानको ओपीडीमा ६० प्रतिशत ज्येष्ठ नागरिक रहेका र ५० प्रतिशत शैया नियमित ज्येष्ठ नागरिकले भरिने गरेको जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकको समन्वित हेरचाहका आवश्यकताका बारेमा राष्ट्रिय तथा प्रादेशिक स्तरका नीति निर्मातालाई जानकारी दिन तथा स्रोत परिचालनका पक्षमा पैरवी गर्ने उद्देश्यले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको अभिमुखीकरण कार्यक्रममा लुम्बिनी प्रदेशका २० स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
सरोकारवालालाई स्वस्थ बृद्धावस्थाका अवधारणाहरु, विशेष रुपमा ज्येष्ठ नागरिकका लागि एकीकृत हेरचाहको दृष्टिकोणबारे समान बुझाइ प्रदान गर्न र एकीकृत जेरियाट्रिक हेरचाह दिन सक्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । कार्यक्रममा स्वास्थ्य बृद्धाअवस्थाको बारेमा विश्व स्वास्थ्य संगठनकी डा. अमृत कन्सलले प्रस्तुति दिनुभएको थियो । प्रतिष्ठानका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा. रमेश कँडेलको स्वागत मन्त्व्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नर्सिङ प्रशासक शर्मिला शर्माले गर्नुभएको थियो ।


