नजिकिदै पर्व, बौरीएन बजार, महंगो भो भान्सा

तुलसीपुर । विपि चौक बजारका लागी तुलसीपुर उपमहानगरपालिकाको मुटु हो । यहि विपि चोकै नजिक कान्तुराम खनालको माइ डिएन सफिङ सेन्टर छ । फेन्सी पशल हो त्यो । सोमवार कुसे औंसिको दिन अर्थात बुवाको मुख हेर्ने पर्व । तर यो दिन पनि उनको पशल सुनसान छ । ‘मैले यो व्यवसाय सुरु गरेको चौध बर्ष भो, तर यत्तिको सुनसान त मैले कहिल्यै अनुभव गरीन, कोरोनाको महामारीमा पनि यो भन्दा बढि कारोवार हुन्थ्यो’, वजार विश्लेषण गर्दै माइडिएन फेन्सीका सन्चालक कान्तुराम खनालले भने ।

खनालको बुझाईमा यो दिन पर्वको किनमेलको सवैभन्दा बढि भिड हुने दिन हो । महिला तथा वालवालिकाका लागि तीज पन्चमीका लागी नयां कपडा खरिद गर्ने खास दिन यहि दिनलाई मानिन्छ । तर अघिल्लो बर्षको तुलनामा यो बर्ष व्यापारिक कारोवारमा कम्तिमा ६० प्रतिशत गिरावट आएको छ । ‘हेर्नुस् न तुलसीपुर बजार भरी एक डेढसय मान्छे पनि बजारमा किनमेल गर्न आएका छैनन्’ कान्तुराम भन्छन् । खासमा पर्वका वेला नयां कपडा किन्ने भनेकै युवा युवती हुन् । अहिले युवा युवती अधिकांश विदेश गैसके । त्यहि कारण पनि फेन्सी व्यवसायमा भारी गिरावट आएको कान्तुरामको भनाइ छ ।

त्यसैगरी तुलसीपुर स्थीत विरेन्द्र चोक पनि त्यत्तिकै व्यस्त बजार हो । विरेन्द्र चौकदेखि पश्चिममा शर्मा सपिङ सेन्टर सन्चालन गरेका छन्, रुपेश शर्माले पनि यो बर्ष फेन्सी बजार निकै सुस्त रहेको बताए । ‘पर्व नजिकिंदै गर्दा पनि कत्तिपनि चहल पहल अनुभुति हुन सकेको छैन’ अन्य व्यवसायीको पनि कारोवार विश्लेषण गर्दा योे बर्ष पोहोर सालको तुलनामा फेन्सी व्यवसायमा करिव ४० प्रतिसत गिरावट आएको छ । उनले पनि यसलाइ युवा विदेशिनु र अन्य नागरीकमा क्रयशक्तिको कमि हुनु नै भनेका छन् । ‘पछिल्ला केहि बर्ष यता उपभोक्ताहरुको क्रयशक्ति पनि निकै कमजोर रहेको छ, यसले पनि फेन्सी व्यवसाय उस्कन सकेको छैन’, तुलसीपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका फेन्सी व्यवसायी शर्माले भने ।


रुपेश र कान्तुराम मात्र होइनन्, तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासका फेन्सी व्यवसायी दधिराम रिजाल पनि त्यस क्षेत्रका पुराना फेन्सी व्यवसायी हुन् । उनले पनि यो बर्ष पर्व नजिकिंदा पनि खासै व्यवसायिक प्रगति नभएको बताउछन् । उपभोक्ताहरुले पर्वलाइ नभएर अति आवश्यक सामानहरु मात्र किन्न थालेको उनको अनुभुति छ । ‘मेरो पशल दुइ बर्ष अघि यो वेला जति भिड हुन्थ्यो, त्यो सम्झदा मलाइ अहिले नियास्रो लाग्न थालेको छ, किनकि पर्वमा पनि हामी वौरीन सकेनौं’, दधिरामले भने । त्यसो त विजौरी बजारका खड्का फेन्सीको व्यापारको अवस्था पनि पर्व नजिकिंदा गतशाल जति कारोवार हुन्थ्यो, यो बर्ष त्यस्तो हुन सकेको छैन । यी व्यवसायी त उदाहरण मात्रै हुन्, पछिल्लो समयमा युवाहरुको विदेश पलायन संगै मुलुकमा आर्थिक मन्दीका कारण उपभोक्ताहरुको क्रयशक्ति कमजोर बन्दा पर्व नजिकिंदै गर्दा पनि बजार वौरीन सकेका छैनन् ।

तुलसीपुरको विपिचोक स्थीत सम्पुर्ण होम डेकोरका सन्चालक विमल गौतमको अनुभव पनि यस्तै छ । केहि बर्ष पहिले गौतमले होम डेकोर पशल सन्चालनमा ल्याएका थिए । तर कारोवार बढ्नुको साटो फेन्सी जस्तै होम डेकोरमा पनि घटिरहेको उनको बुझाइ छ । यसो हुनुको कारण पनि नागरिकमा क्रयशक्ति कमजोर हुनुनै भएको पनि उनले बताए । फेन्सी पशलमा होस वा किराना पशल । मासु मन्डीमा होस वा फलफुल पसल कतैपनि व्यापारीक कारोवारमा उल्लेख्य बृद्धि हुन नसकेको तुलसीपुरको घोराही चोकका एक फलफुल व्यापारीले बताए ।

दुई बर्ष सम्म लगातार विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले थलिएको बजार फेरी अहिले विश्वव्यापी रुपमा आएको आर्थिक मन्दीका कारण थला परेको छ । ‘आर्थिक मन्दीकै कारण करिव पचास प्रतिशत जति व्यवसायीहरु पेषा छाडेर पलायन भएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले बताए । अध्यक्ष केसीका अनुसार व्यवसायी पलायन हुने क्रम अझै रोकिने संभावना देखिंदैन ।

महंगो भो भान्सा

यसैगरी पर्व नजिकिंदै गर्दा गृहिणिहरुको भान्सा पनि झन्पछि झन महंगो भएको छ । यसले उपभोक्ताहरुलाइ मारमा पारेको छ । एकातिर क्रयशक्ति कमजोर बन्दै जानु र अर्को तर्फ दैनिक उपभोग्य सामाग्रीमा अस्वाभाविक मुल्यबृद्धि हुन थाले पनि नेपालीका भान्सा महंगा भएका छन् । टमाटर देखि साल्ट ट्रेडिङले बेच्ने नुनमा समेत मुल्यबृद्धि भएको छ । सुजि, आटा, मैदा, चामल, दाल, तरकारी सवैमा अस्वाभाविक मुल्यबृद्धि भएको उपभोक्ता बताउछन् । ‘तरकारीको बजार भाउ त छोइ सक्नुको छैन’, तुलसीपुर उपमहानगरपालिका–१७ निवासी प्रेम बस्नेतले भने । सधै किलोमा किन्ने उनले अहिले तरकारी पाउमा किन्न थालेका छन् । प्रेम जस्तै धेरै उपभोक्ताहरु दैनिक उपभोग्य सामाग्रिमा भएको मुल्य बृद्धिले आफुहरु मारमा परेको बताउछन् ।

कतिपय व्यापारीहरुले त दैनिक उपभोग्य सामाग्रीमा अंकित अधिक्तम मुल्यमा समेत सामान वेच्न मान्दैनन् । बजारमा कतिपय दैनिक खाद्य सामाग्रिहरु म्याद नाघेका पनि देखिन थालेका छन् । तर निगमनकारी निकायहरुले बजार अनुगमन र मुल्य बृद्धि नियन्त्रणमा कुनै चासो दिन सकेका छैनन् । स्थानिय सरकारको बजार अनुगमन पशललाइ स्थानिय सरकारमा दर्ता गराएर राजश्व उठाउन मात्रै बढि केन्द्रित देखिन्छ भने अन्य निकायहरुले पनि स्वस्छ र स्वस्थ बजारको परिकल्पना गरेको पाइएको छैन । पर्व लक्षित अनुगमन सधै कर्मकाण्डी शैलिमा हुने गरेको उपभोक्ताहरुको गुनासो छ ।

कुहिएका फलफुल समेत ठेलामा कराउदै बेच्ने व्यावसायीको तुलसीपुरमा कमि छैन । तर घरि–घरिको बजार अनुगमनले यी सवै समस्यालाइ सम्वोधन गर्न नसकेको तुलसीपुर–१७, झिंगैका उपभोक्ता गिरीराज पाण्डेले बताए । व्यवसायीहरुले भने मुल्यबृद्धि माथिबाटै भएको बताएका छन् । त्यो माथी कहां हो? तुलसीपुरको घोराही चोक नजिक किराना व्यावसाय गर्दे आएका जगदम्वा स्टोरका सन्चालक जगदम्वा प्रसाद गुप्ताले भने । माथि भनेको आफुले सामान लिने डिलर व्यापारी । अर्थात उत्पादकहरुलेनै मुल्य बृद्धि गरेको उनको अभिव्यक्ति थियो । तर यसमा सरकारको गम्भीर ध्यानाकर्षण हुन भने सकेको छैन । उपभोक्तालाई महंगीको मार, व्यवसायीहरुलाई सामान विक्रि नभएको मार ।

यी दुवै थरी मारलाइ सम्वोधन गर्न आर्थिक मन्दीमा सुधार ल्याउन सरकारले विशेष ध्यान दिनुपर्ने सवैको माग रहेको छ ।

साक्षी खबर पत्रिकावाट

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस