तुलसीपुर । विकास निर्माणको विषयलाई लिएर तुलसीपुर– ६ का वडा अध्यक्ष र सदस्यलाई ज्यान मार्ने धम्की आएको छ । तुलसीपुर उपमहानगरपालिका –६ को वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले आफू र वडा सदस्य यमराज केसीलाई भारतीय नम्बरबाट बारम्बार ज्यान मार्ने धम्की आएको बताउनुभयो । गौरवको आयोजना अन्तर्गत तुलसीपुरको तरकारी बजारदेखि गाइडहर हुँदै बनकट्टी जोड्ने मदन आश्रित सडक निर्माणको क्रममा भएको सामान्य विवादलाई लिएर तुलसीपुर उपमहानगरपालिका –६ निवासी इलिजा (डाँगी) वली र निजका श्रीमान जागेश्वर वलीले भारतीय आपराधिक गिरोहलाई प्रयोग गरेर ज्यान मार्ने धम्की दिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भन्नुभयो ।
पत्रकार सम्मेलन
सडक कालोपत्रे गर्नका लागि अतिक्रमित संरचना हटाउने क्रममा वली दम्पतीको घरको पर्खाल भत्काएपछि उनले भारतीय आपराधिक गिरोह प्रयोग गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । साउन २९ गते डोजर लिएर गएका ३ सय उपभोक्ताले बाटोमा वलीको पर्खाल भत्काएपछि साउन ३० गते बिहान देखि बारम्बार वडा सदस्य यमराज केसीलाई भारतीय ९१९०२८०१९९८१ लगायतका विभिन्न नम्बरबाट अध्यक्ष र सदस्यलाई गोलीले उडाउने, सुट गर्ने भन्दै छाडा रुपमा गालीगलौज गर्ने गरेका कारण परिवार समेत आतङ्कित र त्रसीत भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रहरीले चासो नदिएको गुनासो
पत्रकार सम्मेलनमा विकास निर्माणको क्रममा भएको सामान्य विवादलाई लिएर जनप्रतिनिधिलाई खुलेआम निरन्तर रुपमा ज्यान मार्ने धम्की आइरहँदा प्रहरी मौन बस्नुलाई गम्भिर आशङ्काको रुपमा लिएको, ६ नम्बार वडा कार्यालयले बताएको छ । आफूहरूको ज्यानको सुरक्षा सहित आपराधिक समूहसँग वली दम्पतीले गरेको कुराकानी, त्यसको अडियो, भिडियो, एसएमएस र फोननम्बर लगायतका प्रमाण जुटाएर इलाका प्रहरी कार्यालय तुलसीपुरमा भदौ २ गते र जिल्ला प्रहरी कार्यालय घोराहीमा भदौ ७ गते निवेदन पेश गर्दा पनि प्रहरीले अभियुक्तलाई बोलाएर सामान्य छलफल समेत नगर्नुले प्रहरी कसैको दबाब वा आर्थिक प्रभावमा छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको अध्यक्ष भण्डारीले बताउनुभयो ।
‘जनप्रतिनिधिको यो अवस्था छ भने सामान्य जनताले के सहजै न्याय पाएका होलान् ? आज प्रहरी प्रति गम्भिर आशङ्का पैदा भएको छ ।’ पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले भन्नुभयो ।
के भन्छ प्रहरी ?
यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोख्रेलले साइबर क्राइमको मुद्दा हाल्न आफूले सुझाव दिएको बताउनुहुन्छ । धम्की दिने व्यक्तिले टेलिफोन, ह्वाट्सएप र एसएम मार्फत वडा अध्यक्ष र सदस्यलाई ज्यान मार्ने धम्की दिएकाले जसले धम्की दिएको छ, उसैको नाममा साइरबर क्राइम मुद्दा हाल्न सुझाव दिएको डीएसपी पोख्रेलले बताउनुभयो । ज्यान मार्ने धम्की दिने समूहसँग वली दम्पतीको सिधा कनेक्सन रहेको प्रमाण सहित उजुरी दिँदा समेत तपाईँहरू किन पछि हटनु भएको ? भन्ने प्रश्नमा डीएसपी पोख्रेलले उपमहानगरले आफै न्यायिक समितिमा ल्याएर पनि छलफल गर्न सक्ने जवाफ दिनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले आफुहरुले बोलाए पनि वली दम्पित अदालतमा गका छौ भन्दै अनाकानी गरेकाले केहि ढिला भएको बताउनुभयो । यद्यपी हिजो पुनः जनप्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालयमा आएपछि सिडियोको रोहबरमा आवश्यक कारबाहीका लागि तुलसीपुर प्रहरीलाई भनेको एसपी केसीले बताउनुभयो ।
प्रहरी किन लामो बाटो सिकाउँछ : नगर प्रवक्ता वली
तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव वलीले प्रहरीले छोटो बाटो छोडेर किन लामो बाटो सिकाउँछ भन्नेमा आफुहरु आश्चार्य चकितमा परेको बताउनुभयो । ‘घटनासंग जोडिएका मुख्य व्यक्ती घरको ढोकामा छन, तर भारतमा रहेका मान्छेलाई मुद्दा हाल भनेर प्रहरी किन लामो बाटो सिकाउँ छ ? यो खोजिको विषय हो, नगर प्रवक्ता वलीले भन्नुभयो, ‘विवाद जहाँबाट सृजना भएको हो, त्यही व्यक्तीलाई बोलाएर प्रहरीले छलफल गर्ने हो भने सजिलै टुङ्गो लाग्छ तर प्रहरी यो पक्षमा छैन ।’