लुम्बिनीमा बन्यो डाटा पोर्टल

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने बताउनुभएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने, तथ्याङ्कलाई मूल्याङ्कनको आधार बनाउँदा वास्तविकता पत्ता लगाउन सकिने उहाँको भनाइ छ ।

प्रदेश योजना आयोगको आयोजनामा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको लुम्बिनी डाटा पोर्टल सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आर्थिक, सामाजिक, भौतिकलगायत सबै क्षेत्रका तथ्याङ्कलाई यथार्थपरक बनाउनुपर्ने बताउनुभयो । “डाटा पोर्टल बन्नु महत्वपूर्ण उपलब्धि हो । यसलाई सबै निकायले प्रयोग गर्न मिल्ने बनाउनु पर्छ,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हरेक कामको मूल्याङ्कन तथ्याङ्कको आधारमा गर्नु पर्छ । यसमा सबैले ध्यान दिनुपर्ने छ ।”

मुख्यमन्त्री आचार्यले डाटा पोर्टलको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक, पूर्वाधारलगायत सबै विषय र पक्षका तथ्याङ्कलाई एकीकृत गरेर एकै ठाउँमा तथ्याङ्क राखिएको छ । विगतमा तथ्याङ्क खोज्न र प्रयोग गर्न समस्या थियो तर अबदेखि प्रदेशसँग सम्बन्धित सबै तथ्याङ्क डाटा पोर्टलमा राखिएको र त्यहाँ रहेका तथ्याङ्क प्रयोग गर्न सकिने अवस्था रहेको प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले बताउनुभयो ।

लुम्बिनी प्रदेशको समष्टिगत स्थिति समेटिएको छ । एकीकृत रूपमा विवरण राखिएकाले यसको उपयोगिता बढेर गएको भनाइ सचिव कुँवरको छ । यो पोर्टलमा प्रदेश सरकारका विषयगत मन्त्रालयले तयार पारेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरणलगायत सबै क्षेत्रका तथ्याङ्कलाई एकीकृत गरिएको छ । यसका साथै स्वतन्त्र अनुसन्धानकर्तालेतयार पारेका तथ्याङ्कलाई समेत समेटिएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस