विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’ बन्यो रिलिजको एक दिनमा धेरै हेरिने नेपाली गीत ( भिडियो सहित )

काठमाडौं । चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘आइनँ आमा यो तीजमा’ ले रिलिजको एक दिनमा युट्युबमा सबभन्दा धेरै पटक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ।

शनिबार बिहान सार्वजनिक गीतलाई २४ घण्टामा १४ लाख ५२ हजारभन्दा बढीपटक हेरिएको छ। यसअघि कुनै पनि नेपाली गीतले एक दिनभित्र यो उपलब्धि पाउन सकेका थिएनन्।

अहिले गीतको युट्युब भ्युज त्यो भन्दा बढी पुगिसकेको छ। १ लाख २२ हजार लाइक आएको छ। १४ हजार बढी प्रतिक्रियाहरु छन्।

यो गीत रिलिज हुनासाथ चर्चामा आएको थियो। टिकटक र रिल्समा पनि गीत उत्तिकै चर्चामा छ।

लोभलाग्दो भ्युज पाउँदा समेत विष्णु माझीको यो गीत युट्युब ट्रेन्डिङमा देखिएको छैन। उनका गीतहरू यसअघि पनि ट्रेन्डिङमा आएका थिएनन्।

१७ मिनेट लामो ‘आइनँ आमा यो तीजमा’ गीत पुलतीको भट्टी भाग २० का रूपमा सार्वजनिक भएको हो। विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा आशिष अविरलको एरेन्ज छ।

सुन्दरमणिकै निर्देशन, मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओमा ललिता पौडेल फिचर्ड छिन्। भिडिओलाई सम्भु चालिसेले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन्।

सार्वजनिक रूपमा आफूलाई लुकाएरै लोभलाग्दो क्रेज बनाएकी गायिका विष्णु माझीले पछिल्लो समय बाहिरी गीत गाएकी छैनन्। तीजमा भने हरेक वर्ष गीत ल्याइरहेकी छिन्।

उनको चरी जेलैमा तीज गीत १३ दिनमा करोड क्लबमा प्रवेश गरेको थियो। छोटो समयमा करोड क्लबमा पुग्ने गीतमा भने प्रकाश सपुतको सकम्बरी छ। यो गीतलाई एक सातामा युट्युबमा एक करोडभन्दा बढीपटक हेरिएको थियो। यो गीतले रिलिजको एक दिनमा १० लाख भ्युज पाएको थियो।

भिडियो

प्रकाशित मिति : २०८१ भाद्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस