दाङ । सरकारले नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवाको पहुच आम नागरीकहरुमा स्थापित गर्नकालागी योगदानमा आधारीत स्वास्थ्य विमाको निति कार्यानवयनमा ल्याएको छ । तर यसको आम नागरीकहरुमा सहज पहुच स्थापित हुन सकेको छैन भने सेवा लिनका लागी पनि विभिन्न प्राविधिक झण्झट तथा औषधिहरुको सहज उपलव्धतानै ती स्वास्थ्य संस्थाहरुमा उपलव्ध नहुने नागरीक गुनासो रहेको छ ।
स्वास्थ्य सेवाको उपभोगमा सुधार ल्याउन सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात गरेको छ । सो अन्तर्गत यो कार्यक्रम हाल स्वास्थ्य बिमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम पनि मानिएको छ । नेपाल सरकारको दिगो विकाश लक्ष्य पुरा गर्नका लागी पनि नेपाल सरकारले यो कार्यक्रम ल्याएको छ । तर सेवाग्राहिहरुमा समेत यो सेवाका सन्दर्भमा गुनासै गुनासो रहेका छन् ।
‘उपचार खर्चको व्यवस्थापन गर्न नसक्नेहरुका लागी नेपाल सरकारले ल्याएको स्वास्थ्य विमा कायए्रम निकै महत्वपुर्ण छ, तर उपचार सेवा र कार्यान्वयनको पाटो भने निकै कमजोर रहेको छ’, तीन बर्ष अघि स्वास्थ्य विमा गराएका तुलसीपुर उपमहानगरपालिका–१७ निवासी विष्णु रिजालले भने । उनका अनुसार यो सेवा लिनकालागी प्रक्रिया झपण्झटिलो तथा डाक्टरले सिफारीस गरेको औषधि र सेवा पनि ती स्वास्थ्य संस्थामा नहुने हुदा समस्या धेरै हुने गरेको छ । उनीजस्ता थुप्रै सेवा ग्राहिहरुको यस्तै गुनासो रहेको छ । केहि संस्थाले त स्वास्थ्य विमा वोर्डले पैसा समयमा उपलव्ध नगराएको भन्दै केहि समय विमा सेवानै स्थगन गरेका थिए । तर पछिल्लो समयमा भने यो समस्या समाधान भएको छ ।
अर्को समस्या भनेको स्वास्थ्य विमाको पहुच सवै नागरीकहरुले जानकारी समेत पाउन सकेका छैनन् । जिल्लामा प्राय स्थानिय सरकारहरुले एउटा वडामा एक जना विमाकर्ता नियुक्त गरेपनि सवै नागरीकहरु सम्म उनीहरु पुग्न सकेका छैनन् । ‘हामीलाइ त नेपाल सरकारले थालेको स्वास्थ्य विमाका विषयमा जानकारी गराउन समेत एक जना अभिकर्ता समेत आएका छैनन्, त्यसैले हाल सम्म परीवारका कसैले पनि विमा गराएका छैनौं’, तुलसीपुर उपमहानगरपालिका–१८ मनीकापुरका शुनिल शर्माले साक्षि खवरलाइ भने । आफुहरु जस्तै आफ्नो टोलमा धेरै जना यस्ता परीवार विमा सेवावारे जानकारी नै नपाएको पनि उनको अभिव्यक्ति थियो ।
सरकारले नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरुवात गरेको यो स्वास्थ्य विमा कार्यक्रम हो । कार्यक्रम हाल स्वास्थ्य बिमा बोर्डले सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो । यस कार्यक्रममा बिरामी भएको बेला उपचारमा हुन सक्ने ठूलो खर्च धान्न कठिन नहोस् भनेर पहिले नै योगदान रकम मार्फत जोखिम व्यवस्थापन गरिएको हुन्छ । यसले स्वास्थ्य सेवा उपयोगका क्रममा अनियोजित रुपमा भइरहेको व्यक्तिगत खर्चलाई व्यवस्थित गर्दै उपलब्ध स्रोतको प्रभावकारी व्यवस्थापन गर्न मद्दत गर्ने विमा वोर्डका प्रदेश संयोजक जनक साउदले बताएका छन् ।
स्वास्थ्य बीमा नाफामुलक र व्यावसायिक कार्यक्रम नभई सेवामुलक सामाजिक सुरक्षा कार्यक्रम हो । नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । नेपालको संविधान २०७२ को धारा ५१(ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ र स्वास्थ्य बीमा नियमावली २०७५ जारी भइसकेको छ ।
पहिलो माध्यम त दर्ता सहयोगी नै हुन् । स्वास्थ्य बीमा कार्यक्रममा सर्व साधरणहरु समाहित गर्नको लागि देशमा रहेका प्रत्येक वडामा एक जना दर्ता सहयोगीको व्यवस्था गरिएको छ । वडामा कार्यरत दर्ता सहयोगीहरुलाई प्रत्यक्ष वा फोन मार्फत सम्पर्क गर्ने, आपसी समझदारीमा घरमै वा अन्य स्थानमा दर्ता सहयोगीलाई बोलाउने, नेपाल सरकार तथा सरकारी निकायले जारी गरिएको आफ्नो परिचय खुल्ने परिचयपत्र दर्ता सहयोगीलाई उपलब्ध गराई बीमालेख फाराम भरि आफ्नो फोटो खिचाउने, बीमा लेख फाराम भरेपछि दर्ता सहयोगीले परिवारका प्रत्येक बीमितलाई छुट्टाछुट्टै परिचय पत्र उपलब्ध गराउने गरेका छन् ।
दोश्रो माध्यम–दर्ता अधिकारी/बीमा व्यवस्थापन सूचना प्रणाली वडामा कार्यरत दर्ता सहयोगीहरुले आफ्नो वडाका विमितहरुको बीमा अभिलेख फाराम सहितको विवरण जिल्लामा रहेको सम्पर्क शाखा कार्यालयमा दर्ता अधिकारीलाई पेश गर्नु पर्छ । उक्त पेश भएको बीमा अभिलेख फाराम अनुसार विमित्तको विवरण दर्ता अधिकारीले बीमा व्यवस्थापन सुचना प्रणालीमा समावेश गर्छन । सेवा सक्रिया भए पछि बिमित्तले उल्लेख गरेको प्रथम सेवा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट उपलब्ध हुने स्वास्थ्य सेवा विमित्ले लिन सक्नेछ, उक्त सेवा एक वर्षका लागि हुनेछ र १ वर्ष पछि निरन्तर रुपमा नियमानुसार नविकरण गरिराख्नु पर्छ । योगदानमा आधारित कार्यक्रम भएको हुनाले केही योगदान रकम विमित्तले बुझाउनु पर्ने हुन्छ । ५ जना सम्मको सदस्य रहेका साधारण परिवारले योगदान रकम रु ३५०० बुझाउनु पर्नेछ जसले प्रति परिवार प्रति वर्ष रु १ लाख सम्मको सेवा प्राप्त गर्न सक्नु हुन्छ त्यस्तै ५ जना भन्दा बढी सदस्य रहेका साधरण परिवारको हकमा प्रति सदस्य थप रु ७०० योगदान रकम बुझाउनु पर्नेछ र सेवामा थप प्रति सदस्य थप २० हजार रुपैयाँका दरले थप्दै प्रति वर्ष अनिकतम २ लाख रुपैयाँ सम्मको सेवा पाउनेछ । जस्तै –कुनै परिवारमा ७ जना सदस्य छन उक्त परिवारले योगदान रकम रु ४९००/– बुझाउनु पर्नेछ र सेवा रु १ लाख ४० हजार बराबरको पाउनेछन । तर यो सेवामा आम नागरीकहरु भने जोडिन सकेका छैनन् ।
साभारः साक्षी खबर


