
तुलसीपुर । दाङको तुलसीपुरमा दिनदहाडै अटो व्यवसायीमाथी खुकुरी प्रहार भएको छ । अटो भाडाको विषयलाई लिएर तुलसीपुर–६ का अटो चालक विजय श्रेष्ठमाथी आज बिहान ९ बजेको समयमा धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । तुलसीपुरको कालिका मन्दिरबाट अटोमा चडेर यातायात व्यवस्था कार्यालय गाइडहर गएका तुलसीपुर–९ का रामशरण बैस्यले ५० रुपैयाँ भाडा दिन नमानेपछी सामान्य विवाद भएको थियो । सोही विवादलाई लिएर यात्रुका रुपमा गएका बैस्यले दोस्रो व्यक्तीलाई लगाएर अटो चालकमाथी खुकुरी प्रहार गर्न लगाएको प्रहरीले जनाएको छ । यसरी दिनदहाडै अटो व्यवसायीमाथी खुकुरी प्रहार हुदा तुलसीपुरको सुरक्षा व्यवस्थामाथी नै ठुलो प्रश्न चिन्ह खडा भएको छ । तुलसीपुरको यातायात व्यवस्था कार्यालयको गेट अगाडी दिउँसै खुकरी प्रहार हुदा अटो व्यवसायीलगाएत सबैलाई त्रसित बनाएको भन्दै दोसीलाई कडा कारवाही हुनुपर्ने यातायात प्रालिहरुले माग गरेका छन् । अटो भाडामा चित्त नबुझे कानुनी उपचारको बाटो खुल्ला हुदाहुदै अटो व्यवसायीमाथी नै ज्यान मार्ने उदेश्यले आक्रामक तरिकाले खुकुरी प्रहार हुनु दुखद पक्ष भएको नमस्ते एकता यातायात प्रालिका अध्यक्ष रोमहर्स केसीले बताउनुभयो । एउटा व्यवसायीमाथी खुकुरी प्रहार हुनु भनेको सिङ्गो व्यवसायीमाथी दमन भएको भन्दै दोसीलाई आवश्यक कारवाही हुनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै सार्वजनिक कालिका मालिका यातायात प्रालिका अध्यक्ष दिलिप बिकले पनि अटो व्यवसायीमाथीको आक्रमण कुनै हालतमा सैह्य नहुने बताउनुभएको छ । सामान्य ५० रुपैयाँ अटो भाडा दिन नसकेर अटो व्यवसायीमाथी खुकुरी प्रहार र्गे र गर्न लगाउने सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने उहाँको माग छ । यसरी दिनदहाडै खुकुरी प्रहार हुदा डरको वातावरण सृजना भएको भन्दै यसमा प्रहरी प्रशासन गम्भिर भएर आगामी दिनमा अटो व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अटो चालकहरुको माग छ । यसले तुलसीपुरको सुरक्षा व्यवस्थालाई ठाडो चुनौती दिएको भन्दै सुरक्षीत तरिकाले व्यवसाय गर्ने वातावरण हुनुपर्ने अटो व्यवसायीहरुले बताएका छन् । खुकुरी प्रहार गर्न लगाउने बैस्य र खुकुरी प्रहारमा संलग्न जिवि जिएमको नाममा प्रहरीमा जाहेरीसमेत दिइसकेको घाइते पक्षले बताएको छ । यता इलका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर पोख्रेलले भने घटनाको सूचना ढिला गरी पाएको बताउनुभएको छ । यसले गर्दा घटनामा संलग्न व्यक्तीहरु भाग्न सफल भएको र उनीहरुको खोजी भइरहेको उहाँले बताउनुभयो । आरोपीहरुको पहिचान भइसकेकाले छिट्टै उनीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने डीएसपी पोख्रेलले बताउनुभएको छ ।