अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राप्तीमा रक्तदान : २० युनिट रगत संकलन

भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित माैरीघाट सामुदायिक स्वास्थ्य इकाईमा साेमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिका चेम्बर अफ कर्मशकाे मातहातमा रहेको युवा चेम्बर अफ कमर्सकाे आयाेजना एवम् राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आर्थिक तथा रक्त सञ्चार सेवा केन्द्र लमहीको प्राविधिक सहयोगमा २५ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा साे कार्यक्रम सम्पन्न भएको हाे।

रक्तदान कार्यक्रममा २० जना रक्तदाताहरुबाट २० युनिट रगत संकलन भएको छ। युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको साे कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष विष्टले सबैभन्दा उत्कृष्ट दान भनेकै रक्तदान भएको बताउदै समाजमा अझै पनि रक्तदान गर्नुको महत्त्व बुझाउन आवश्यक रहेको बताउनुभयो ।

रक्तदान कार्यक्रमले जिल्लाका विभिन्न अस्पतालहरुमा बेलाबेलामा देखिने रगत अभावकाे समस्या समाधान गर्न सहयोग पुग्ने अध्यक्ष विष्टको भनाइ रहेको थियो । त्यस्तै अध्यक्ष विष्टले युवाहरू रचनात्मक कार्य प्रति अग्रसर बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी,दाङ रक्त सञ्चार सेवा केन्द्रका जिल्ला प्रमुख दिलिप न्यौपाने,राप्ती चेम्बर अफ कमर्सका अध्यक्ष नेमलाल बेल्बासे,शेषकान्त आचार्य लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियो। कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस