दाङमा मानव बेचबिखन रोक्न विभिन्न गतिविधि सञ्चालन गरिने

घोराही – दाङमा मानव बेचबिखन तथा ओसारपसार रोक्न विभिन्न गतिविधि सञ्चालन गरिने भएको छ । बिहीबार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली २०६५ को नियम ७ बमोजिम गठित जिल्ला समितिको बैठकले नाकामा जाँच बढाउनेदेखि अभिमुखीकरणसम्मका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको अध्यक्षतामा बसेको बैठकले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) गर्ने सन्दर्भमा जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईहरुबाट सीमा नाकामा जाँचको प्रबन्ध मिलाउने निर्णय गरेको छ । कानुनबमोजिम तोकिएको जिल्ला समितिले समय समयमा त्यसको अनुगमन गर्ने व्यवस्था मिलाउने, मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्न जिल्लाका सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ र सबै सञ्चार माध्यमहरुमा सार्वजनिक हितका लागि मानव बेचबिखन तथा ओसारपसारको विरुद्ध सन्देशमूलक सूचनाहरु प्रचार प्रसारको व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

समितिका सदस्य सचिव एवं जिल्ला प्रशासन कार्यालयका प्रशाशकीय अधिकृत नीम बहादुर केसीले दिएको जानकारी अनुसार जिल्लाभित्र मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका व्यक्तिहरुको उद्धार गर्ने क्षेत्रमा कार्यरत व्यक्ति वा सम्पूर्ण गैरसरकारी संघसंस्थाहरुले जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । सेप्टेम्बर ५ अर्थात भदौ २० गते परेको मानव वेचबिखन विरुद्ध राष्ट्रिय दिवस भव्य तरीकाले मनाउने निर्णय पनि गरिएको छ । दिवस मनाउन सबै पालिकाहरुको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाहरुबाटब्यानरसहित अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गर्ने, सबै पालिकाहरुको शिक्षा शाखाबाट विद्यालय/कलेजहरुमा मानव बेचबिखन विरुद्धका चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने, जिल्ला ट्राफिक कार्यालयले सार्वजनिक यातायातहरुका चालक/सहचालक र यात्रुहरुसँग संक्षिप्त भेटघाट सहितको जनचेतना अभिबृद्धि गराउने निर्णय गरिएको छ ।

प्रकाशित मिति : २०८१ साउन २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस