पहिरोले राप्ती राजमार्ग अवरुद्ध

सल्यान / अविरल बर्षातका कारण पहिरो जाँदा शुक्रबार बिहानदेखि राप्ती राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको दार्मा गाउँपालिका-५ जलेखर्कस्थित ठूलो पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा अहिले यात्रुबाहक सवारी साधन आवतजावत ठप्प भएको छ भने रुकुमबाट सल्यान हुदै दाङ जाने र दाङ तथा सल्यानबाट रुकुम जाने यात्रुहरू बाटोमै अलपत्र परेका छन । नजिकैका यात्रुहरू हिँडेर आउजाउ गर्न बाध्य भएका छन् ।

गएराति परेको वर्षाका कारण गएको पहिरोका साथै सडक हिलाम्मे भएकाले राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रनि रेसमबहादुर खत्रीले बताए । सडक अवरुद्ध भएको स्थानमा अहिले सुरक्षाकर्मी पुगेर पहिरो पन्छाउने र सडक खुलाउने काम भइरहेको उनले जानकारी गराए ।

उनका अनुसार पहिरो र सडक थुप्रिएको लेदो माटो हटाउन अहिले जलेखर्कमा एक्स्काभेटर पठाइएको छ ।

प्रकाशित मिति : २०८१ साउन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस