तुलसीपुरमा १ सय ८६ जोडीको सम्बन्ध विच्छेद

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा एक वर्षको अवधिमा १ सय ८६ जना जोडीको सम्बन्ध विच्छेद भएको छ । उपमहानगरपालिकामा चालु आर्थिक वर्ष २०८०/०८१ मा सो संख्यामा सम्बन्ध विच्छेद गर्नेको तथ्याँक उपमहानगरपालिकासँग रहेको सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारी अनुसार उपमहानगरका १९ वटा वडामध्ये सबै भन्दा धेरै १८ नंबर वडाका १८ जोडीले सम्बन्ध विच्छेद गरेका छन् भने थोरै २ र १० नंबर वडामा ४/४ जनाले विच्छेद गरेका छन् ।

वडा नंबर १ मा ७, ३ मा ९, ४ मा १३, ५ मा ११, ६ मा १७, ७ मा १५ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । यस्तै वडा नंबर ८ मा ९, ९ मा ५, ११ मा ८, १२ मा ६, १३ मा १३, १४ मा ७ , १५ मा १५, १६ मा १०, १७ मा ८ र १९ मा ८ जना जोडीले सम्बन्ध विच्छेद गरेका छन् । तुलसीपुरमा श्रीमान श्रीमती विचमा भएका साना तथा ठूला विवादका कारण हुने सम्बन्ध विच्छेदले विकराल रुप लिदै गएको सुचना अधिकारी न्यौपानेले बताउनु भयो । उपमहानगरपालिकाले तयार पारेको सम्बन्ध विच्छेदको तथ्याँक हेर्दा हाम्रो समाज कता जाँदैछ भन्ने सोच्नु पर्ने र यसलाई सुधार गर्नु पर्ने उहाँको भनाई छ ।

यसैगरी तुलसीपुरमा एक वर्षको अवधिमा १ हजार ४ सय ७६ जना जोडीले विवाह गरेका छन् । यस्तै १ हजार ४० महिला र १ हजार ३ सय ५ पुरुष गरी २ हजार ३ सय ५ जनाले जन्मदर्ता गराएका छन् । ४ सय ३३ महिला र ६ सय १५ पुरुष गरी १ हजार ४९ जनाको मृत्यु दर्ता गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस