
चितवन, २८ असार । नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । उक्त बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।
घटनास्थलमा पुग्नुभएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार आज बिहान साढे तीन बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उहाँकाअनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।
प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा छौँ । पानी परिरहेको छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उहाँले पूरा विवरण भने आइनसकेको बताउनुभयो ।
प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार