कसरी पुग्छ नेपालको बिजुली बंगलादेश ?

काठमाडौँ — नेपाल र बंगलादेशबीचको भौगोलिक दूरी(हवाई दूरी) करिब २२ किलोमिटर मात्रै हो । तर नेपालबाट बंगलादेश बिजुली निर्यात गर्न प्रसारण लाइन भने छैन । बंगलादेशलाई बिजुली बेच्न नेपाललाई भारतले बाटो दिनुपर्नेछ ।

नेपाल र बंगलादेशबीच सिधा प्रसारण लाइन नहुँदा नेपालको बिजुलीले ५ सय किलोमिटरभन्दा बढी यात्रा तय गर्नुपर्ने देखिएको छ । नेपाल र भारतबीचको अन्तरदेशीय प्रसारणलाइन ४ सय केभी ढल्केबरदेखि भारतको मुजफ्फरपुर पुग्नेछ । भारतको मुजफ्फरपुर सबस्टेसनबाट २२० केभी र ४०० केभी प्रसारणलाइनबाट भारतको बेहरामपुर पुग्नेछ । त्यसपछि भारत र बंगलोदशको अन्तरदेशीय प्रसारण लाइन हुँदै बंगलादेश पुग्नेछ । भारतको बेहरामपुर प्रसारण लाइन हुँदै नेपालको बिजुली बंगलादेशको भेडामारा पुग्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको १५ जुन–१५ नोभेम्बरसम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने जनाएको छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युत्को मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युत्को मिटर मुजफ्फरपुरमा रहने छ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

प्राधिकरणले अबको एक महिनाभित्र सम्झौता गर्नुपर्नेछ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले आर्थिक हिसाबले नयाँ सुरुवातको एक संकेत मात्र भएको बताए । बिजुली बिक्री हुँदा मुलुकलाई प्रतिमहिना ३३ करोड रुपैयाँ आम्दानी हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस