रोल्पा जिप दुर्घटनाका मृतक सबै जनाको सनाखत

रोल्पा । रोल्पामा सोमबार बेलुकी भएको जिप दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ । घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप साँझ ६ बजेतिर माडी गाउँपालिका वडा नम्बर ४ परेवा छहरा भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा माडी गाउँपालिका वडा नम्बर ३ तालबाङकी ३३ वर्षाीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी रहेका छन् । सोही वडाकी ३० वर्षीया अमृता घर्ती उनकी १८ महिनाकी छोरीको दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र अस्पताल रिफर गरिएको छ । घाइते खगेन्द्र बाँठाको रोल्पामै उपचार जारी छ ।

सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर भने उपचारपछि घर फर्किएकी छिन् । उनी जिप दुर्घटना हुँदै गर्दा हाम फालेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले बताए । जिप दुर्घटनामा चालकसहित १५ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाकाअनुसार जिप गुडिरहेको समयमा अचानक पहिरो खस्न थालेपछि चालकले गाडी पछाडि हटाएका थिए । गाडी स्टार्ट भइरहेकै अवस्थामा ओर्लिएर ओट राख्न खोज्दा उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस