रुपाकोटमा प्राङगारीक भर्मिकम्पोस्ट मल उत्पादन, प्रविधि र नमुना उद्योग स्थापना सम्बन्धी ५ दिने तालिम शुरु

दाङको राप्ती गाउँपालिका वडा नं.९ रुपाकोटमा प्राङगारीक भर्मिकम्पोस्ट मल उत्पादन, प्रविधि र नमुना उद्योग स्थापना सम्बन्धी ५ दिने तालिम शुरु भएको छ।

गाउँपालिकाको ‘राप्तीका युवा र महिला उद्यमशिलतामा पहिला’ कार्यक्रम अन्तर्गत सो तालिम शुरु भएको हो।

राप्ती गाउँपालिका वडा नं.९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्वरा शक्ति घट्दै गएको र सो शक्ति कायम राख्न प्राङगारीक मल प्रयोगको विकल्प नरहेको बताउनुभयो ।

रासायनिक मल एक प्रकारको रासायनिक विषादी भएको बताउदै अध्यक्ष विष्टले त्यसको प्रयोगले माटो सँगसँगै स्वास्थ्य र वातावरणमा समेत असर गर्ने बताउनुभयो ।

त्यस्तै अध्यक्ष विष्टले सहभागीहरुलाई भर्मिकम्पोस्ट मलको उद्योग स्थापना र उत्पादित मल बिक्रीवितरणका लागि पालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

त्यस्तै वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले तालिम निकै उपयोगी भएको बताउदै सहभागीहरूलाई तालिम अवधिभर नियमितरूपमा सहभागी भई सामूहिक उद्योग स्थापनामा लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य दधि बहादुर बराल मगर, राष्ट्रिय युवा परिषद्का केन्द्रीय सदस्य तथा उद्वाशिलता अभियान्ता सन्दिप सपकोटा, सहकारीकर्मी शिवध्वज मल्ल लगायतले भर्मिकम्पोस्ट मल, प्रविधि र नमुना उद्योग स्थापनाका आवश्यकता,महत्त्व र फाइदाका बारेमा जानकारी दिनुभएको थियो ।

नेचुरल एग्रो कृषि फर्म नवलपरासीका सञ्चालक तथा तालिमका प्रशिक्षक हरि भण्डारीले प्राङगारीक तथा जैविक मल बनाउने विधि, जैविक किरा नियन्त्रण प्रविधिको बारेमा जानकारी गराउनु भएको थियो।

राप्ती गाउँपालिकाको आयोजनामा तथा नेचुरल एग्रो कृषि फर्म नवलपरासीको प्राविधिक सहयोगमा सञ्चालित तालिममा २० जना कृषकहरुको सहभागीता रहेको छ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस