वर्षा नभएको कारण तरकारीको भाउ आकासियो

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५ दिपशीखा रोड डिभिजन खानेपानी कार्यालय सामुन्ने रहेको सब्जीमण्डीमा थारु महिलाहरुले छिट्वामा तरकारी बेचविखनका लागि ल्याएकै कारण सो सब्जीमण्डिमा दैनिकी सयौंको संख्यामा मानिसहरुको भिडभाड रहने गरेको छ ।

सहज एवम् सरल तरिकाले सो मण्डिमा तरकारी पाइएता पनि तरकारीको भाउ आकासिएको छ । न्यून आयस्रोत भएकाहरुले तरकारी किन्नै नसक्ने अवस्थामा पुगेका छन् । हरेक दिन विहान बेलुका सबैको भान्सामा तरकारी पाक्ने गरेको छ । धनी होस् या गरिब जसले पनि आफ्नो हैसियत अनुसार तरकारी किनमेल गरेका हुन्छन् । सिजन अनुसार सो मण्डिमा तरकारी बेच्न राखिएको हुन्छ । आफ्नो अनि परिवारको स्वाद अनुसार तरकारी खरिद गर्नेहरु विहानै सब्जिमण्डि पुगेका हुन्छन् । विहानीको स्वच्छ हावामा मर्निङ वाक गर्दै प्रायः घरका गृहणीहरु तरकारी खरिदका लागि सो सब्जिमण्डी पुगेको देख्न सकिन्छ ।

कृषि उपज बिक्रि केन्द्रको नामले समेत चिनिने सो मण्डिमा ग्राहकहरुको भिडभाड अत्यधिक रहने गरेको छ । तर यस मण्डिमा चाख लाग्दो कुरा छिट्वामा तरकारी ल्याउने र बेचविखन गर्ने थारु महिलाहरुको सक्रियतालाई सबैले राम्रोसँग नियालीरहेको अनुमान गर्न सकिन्छ । आर्थिक रुपमा निर्भर बन्न थारु समुदायका महिलाहरु तरकारी खेतीमा विगत लामो समयदेखि संलग्न हुँदै आइरहेको सर्वविदितै छ । तरकारी बेचविखनबाट आएको आम्दानी सञ्चित गर्दै थारु महिलाहरु स्वरोजगार बन्दै गएको अमृत टोल विकास संस्था अन्तरगत रहेको सब्जिमण्डिका अध्यक्ष केशवराज ढकाल बताउँछन् ।

सो मण्डिमा तरकारी खरिद गर्ने र बेचविखन गर्नेहरुको संख्या तुलना गर्दा महिलाहरुकै बाहुल्यता देखिन्छ । तरकारी बेचबिखनका लागि महिलाहरु एकआपसमा प्रतिष्पर्धा गरिरहेका हुन्छन् तर, सो मण्डिमा तरकारीको मूल्यमा एकरुपता पाइँदैन । मण्डिभित्रै एउटै तरकारीको मूल्य फरकफरक कायम गरिएको छ । एउटा छिट्वामा राखिएको तरकारी प्रति के.जि. मूल्य अर्को छिट्वा तरकारी भन्दा भिन्नै छ ।

ग्राहकहरुले जुन छिट्वामा तरकारी सस्तो भेट्छन् त्यही छिट्वाबाट तरकारी किनेर लगेको पनि स्पष्ट देख्न सकिन्छ । सो मण्डि भित्र अहिले भिण्डी, करेला, टमाटर, बोडि, लौका, फर्सी, घिरौला लगायतका तरकारीहरु बेचबिखन भइरहेका छन् । प्रत्येक छिट्वामा राखिएका तरकारीमा पाँच देखि दश रुपैयाँको अन्तर हुने गरेको छ । जसका कारण जुन छिट्वामा सस्तो तरकारी भेटिन्छ, ग्राहकहरु त्यहि छिट्वाबाट तरकारी लिन तछाडमछाड गरिरहेका हुन्छन् ।

दाङमा मात्र उत्पादन भएका तरकारीको स्वाद लिएका ग्राहकलाई सो सब्जिमण्डिले देउखुरी क्षेत्रमा उत्पादन भएका तरकारीको स्वाद लिने अवसर समेत जुराइदिएको छ । छिट्वामा तरकारी ल्याई बेचविखन गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको सो सब्जिमण्डिमा मूल्यको एकरुपता छैन । सब्जिमण्डि सञ्चालनको जिम्मेवारी पाएको अमृत टोल विकास संस्थाले सब्जिमण्डि रेखदेखका लागि छुट्टै समिति समेत बनाएको छ । सो समितिले सब्जिमण्डिमा बेचविखनका लागि ल्याइएका तरकारीको मूल्यमा एकरुपता ल्याउन प्रयास जारी राखेको सो समितिका अध्यक्ष केशवराज ढकाल बताउँछन् ।

घोराही उपमहानगरपालिकाको संरक्षणमा रहेको सब्जिमण्डि सञ्चालक समितिले सेवाग्राहीको सुविधाका लागि आफूहरु हरप्रयासमा क्रियाशील रहेको बताउँदै आगामि दिनमा समेत सेवाग्राहीको मन जित्ने गरि काम गर्न लागेको बताए ।

सब्जिमण्डि सञ्चालक समितिका अध्यक्ष केशवराज ढकालका अनुसार मण्डि व्यवस्थापनका लागि घोराही उपमहानगरपालिकाबाट रकम विनियोजन भएको र सब्जिमण्डि भित्र रहेको खालि जग्गामा ब्लकईट्टा विछ्याउने काम भईरहेको बताउँदै निकट भविष्यमै सेवाग्राहीलाई घाम पानीबाट बच्नको लागि टहरा बनाउने योजनामा आफूहरु रहेको बताए । अहिले तरकारीको भाउ अत्यधिक बढेको छ । न्यून आयस्रोत भएकाहरु किन्नैनसक्ने अवस्थामा पुगेका छन् ।

लामो समयको खडेरीको कारण सिमित ठाउँमा मात्र तरकारी खेती गरिएकोले मूल्य बृद्धि भएको किसान बताउँछन् भने नियमनकारी निकायले अनुगमन नगर्दा मूल्य बृद्धि आकाशिएको ग्राहकहरु बताउँछन् । तरकारी विक्रेता र खरिदकर्ताका लागि सहजता थपियोस भन्ने उद्देश्यका साथ निर्माण गरिएको सो मण्डिबाट किसान र ग्राहक लाभाञ्वित भएको आफूहरुले पाएको मण्डि सञ्चाल समितिले जनाएको छ । सबैको राय, सल्लाह, सुझाव अनुसार सो मण्डिभित्र तरकारीको मूल्यमा एकरुपता ल्याउने विषयमा आफूहरु लागिरहेको मण्डि सञ्चालक समितिका अध्यक्ष ढकालको भनाई छ ।

थारु महिलाहरुले छिट्वामा तरकारी बेच्ने थलोको रुपमा समेत परिचित सब्जिमण्डि सबैको साझा सम्पत्ति हो । छिट्वाको तरकारीले थेगेको मण्डिलाई अझ व्यवस्थित गर्दै मूल्यमा एकरुपता ल्याई न्यून आयस्रोत भएकाहरुले पनि सहज एवम् सरल तरिकाले तरकारी किन्न सक्ने वातावरण निर्माणका आफूहरु प्रतिवद्ध रहेको समेत ढकालले बताए ।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस