
रुकुम पूर्व । यस वर्ष रुकुम पूर्वबाट साठी क्विन्टल भीर मह निकासी भएको छ । वैशाख देखि जेठ महिनाको अवधिमा भीर मह निकाल्ने गरिन्छ । यो अवधिमा साठी क्विन्टल भीर मह निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।
पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन वटा गाउँपालिकाका विभिन्न ठाउँमा भीर मौरी पाइन्छ । जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गरिएको भीर मह जिल्ला बाहिर निकासी भएको हो । मह निकाल्ने र निकासी गर्ने ठेक्का मार्फत गर्ने गरिएको छ । गत वर्षहरूको तुलनामा यो वर्ष मह केही वृद्धि भएको डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले बताउनुभयो । ६० क्विन्टल भीर मह निकासीको लागि व्यापारीले अनुमति पुर्जी लिएका हुन् । ६० क्विन्टल मह नै निकासी भइसकेको रेन्जर केसीले जानकारी दिनुभयो ।
प्रति किलो २० रुपियाँको दरमा निकासी गर्ने व्यापारीबाट राजस्व लिने गरिएको डिभिजन वन कार्यालयले बताएको छ । जसमा साठी क्विन्टल बापतको कार्यालयमा राजस्व एक लाख २० हजार रुपियाँ सङ्कलन भएको छ । गत वर्ष ५० क्विन्टल भीर मह निकासी भएको थियो ।।