फुलबारीमा मनोविमर्श सचेतना कार्यक्रम

फुलबारी । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा मनोविमर्श सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ सँगको सहकार्यमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा मनोविमर्श सम्बन्धी कार्यक्रम भएको हो ।


तालिम उद्घाटन अवसरमा बोल्दै वडा अध्यक्ष मोहनलाल पौडेलले पछिल्लो समयमा समाजमा मनोसामाजिक समस्याहरु बढ्दो मात्रामा रहेकाले वडाले महिलाहरुकालागी मनोसामाजिक मनोविमर्श सचेतना कार्यक्रम अन्तरगत बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले वडाले आफ्ना वडाबासीहरुको समस्यामा साथ दिदै आएको बताउदै वडाका एकल महिला, द्धन्दपीडित महिलाहरुलाई लक्षित गरेर मनोविमर्श सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

वडा सदस्य बिमला शर्माले महिलाहरुको समस्याप्रति वडा गम्भीर रहेको बताउदै एकल एवं द्धन्दपीडित महिलाहरलाई कुनै समस्या भएका वडालाई जानकारी गराउन अनुरोध गर्नुभयो । वडा सदस्य बेलमति परियारले महिलाहरुको मानसिक समस्या कम गर्नकालागी यस शिर्षकमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


वडा अध्यक्ष मोहनलाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला साुमदायिक सेवा केन्द्रका कार्यक्रम संयोजक आर.के.शीतलले विषय प्रवेश गराउनुभएको थियो । कार्यक्रममा मनोविमर्शकर्ताहरु लक्ष्मी ढकाल र निर्मला चौधरीले मनोसामाजिक मनोविमर्श भनेको के हो, मनोसामाजिक समस्या हुनुका कारणहरु, लक्षणहरु र समस्या व्यवस्यापनका विषयमा जानकारी गराउनुभएको थियो ।

त्यस अवसरमा महिलाहरुलाई कसरी उद्यमी बनाउने भन्ने विषयमा तुलसीपुर उपमहानगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाका बिनु हमालले जानकारी गराउनुभएको थियो । कार्यक्रममा ९० जना एक तथा द्धन्दपीडित महिलाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस