गुम्बालाई वातावरण संरक्षणमा जोड्न कार्ययोजना तयार

बौद्ध शिक्षाको माध्यमबाट वातावरण तथा वन्यजन्तु संरक्षण गर्न नेपाल बौद्ध महासंघले दश वर्षे कार्ययोजना सार्वजनिक गरेको छ।

विश्व वातारण दिवसको अवसरमा बुधबार विश्व वन्यजन्तु कोष नेपालको सहयोगमा महासंघले तयार पारेको कार्ययोजना सार्वजनिक गरिएको हो। कार्ययोजनामा बौद्ध गुम्बा र गुम्बा परिसरलाई वातावरणमैत्री बनाउने लगायतका कार्यक्रम रहेका छन्।

सन् २०२४ देखि २०३४ सम्म गुम्बा मार्फत के कस्ता संरक्षण कार्य गर्न सकिन्छ भन्ने आधार दिने कार्ययोजना बनाउन अनौपचारिक, औपचारिक धेरै छलफल गरिएको महासंघले जनाएको छ। बिभिन्न जिल्लाबाट सुझाव संकलन गरिएको महासंघका निवर्तमान अध्यक्ष तथा कार्ययोजना निर्माण सहभागी आचार्य नोर्बु शेर्पाले बताए। “झण्डै सात वर्षदेखि थालिएको कामले अहिले पूर्णता पाएको छ,” नोर्बुले भने।

नेपालका गोन्पाहरूले वातावरण संरक्षणमा के कति योगदान दिन सक्छन् भन्ने समीक्षाका आधारमा कार्ययोजना बनेको उनले बताए। सबै प्राकृतिक कुरा व्यापारीकरण भएर नासिने क्रममा रहेकाले पनि संरक्षणमा जोड दिनु परेको उनको भनाइ छ।

बौद्धगुरुले अबका दिनमा आध्यात्मिक प्रवचनमा वातावरण संरक्षणको विषय पनि समेट्नु पर्ने वेला आएको बताए। बौद्ध परम्पराको स्वास्थ्य उपचारको विधि, आम्चीको संरक्षण, विकास र समुदायले कसरी फाइदा लिने भनेर पनि विगतमा संरक्षणकर्मीसँग सहकार्य भएको उनीहरूले उल्लेख गरे।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस