दाङ : घोराही उपमहानगरपालिका १० नारायणपुरमा सञ्चालित दुई दिने अर्गानिक मौसमी तथा बेमौसमी तरकारी खेती तालिमको शनिबार समापन गरिएको छ । नारायणपुरमा रहेको ओजरार कृषि सहकारी संस्थाका ४० जना महिला कृषकहरूलाई पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङको सहयोगमा दुई दिन तालिम दिइएको थियो । संस्थाकी अध्यक्ष कमला चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरू तालिमबाट धेरै कुराहरू सिक्न पाएको भएयता पनि समय छोटो भएको बताएका थिए । घोराही ८ बेलुवाकी माया चौधरीले तालिमबाट धेरै कुराहरू सिक्ने पाएको भन्दै यसलाई व्यवहारमा लागू गर्न सिँचाइको अभाव रहेको बताइन् । उनले अर्गानिक मौसम तथा बेमौसमी तरकारी खेतीको बारेमा पहिलो पटक थाहा पाएको भन्दै आयोजकलाई धन्यवाद समेत दिइन् ।
यस्तै कार्यक्रममा बोल्दै अर्की सहभागी अनिता चौधरीले पनि तालिमबाट धेरै कुराहरू सिक्न पाएको बताइन् । उनले संस्थाले शुरुमा आफूहरूलाई अर्गानिक मल र औषधि बनाउने तालिम दिएको र अहिले फेरि तरकारी खेतीको बारेमा तालिम दिएको भन्दै खुशी व्यक्त गरिन् । उनले आफूहरू ३० जनाको समुह बनाएर अर्गानिक तरकारी खेती गर्न लागेको समेत बताइन् । उनले एक बिगाहा जग्गा भाडामा लिएर आफू मुक्त कम्लहरीहरूले खेती गर्नको लागेको भन्दै स्थानीय तथा प्रदेश सरकारलाई सहयोग गरिदिन समेत आग्रह गरिन् । यस्तै उनले यस्ता तालिमहरू आगामी दिनहरूमा दिन समेत संस्थालाई आग्रह गरिन् ।यस्तै तालिम प्रशिक्षण वागवाणी विकास अधिकृत धनराज गौतमले मौसमी तथा बेमौसमी तरकारी खेती बारेमा प्रशिक्षण दिएका थिए ।
उनले सबै भन्दा सजिलो तरिकाले बन्दगोभी, काउली, काँक्रा, फर्सी, घिरौला जस्ता तरकारी अर्गानिक खेती गर्न सकिने समेत बताए । उनले अर्गानिक खेतीले मानव स्वास्थ्य मात्र नभइ वातावरणमा पनि फाइदा हुने समेत बताए । यस्तै कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष डिल्ली बहादुर रावतले अहिलेसम्म जिल्लामा ३ सय किसानहरूलाई मल, औषधि तथा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने तालिम दिएको समेत बताए । उनका अनुसार विसं २०९० सालसम्म जिल्लालाई अर्गानिक खेती जिल्ला बनाउने उद्देश्यका साथ कृषकहरूलाई तालिम प्रदान गरिएको छ ।
पछिल्लो समय खेतीमा अत्याधिक मात्रामा रासायनिक मल तथा विषादीहरू प्रयोग गर्दा मानव स्वास्थ्यसँगै माटो र वातावरणलाई समेत असर परेको हुँदा त्यसबाट मुक्त हुन अब सबैले अर्गानिक खेती गर्नु पर्ने बताए । यस्तै उनले तालिमसँगै कृषकहरूलाई विभिन्न अर्गानिक तरकारीको बिउँ, टर्नेल सहयोग गर्दै आइरहेको समेत बताए । उनका अनुसार पछिल्लो समय प्रदेश सरकार र स्थानीय सरकार र कृषि ज्ञान केन्द्र पनि अर्गानिक खेती गराउन तर्फ अगाडि सरेका छन् ।