दाङ । दाङको तुलसीपुरमा आजदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजनमा संचालित कोचिङ कोर्सको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले गर्नु भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले राष्ट्रको सान र पहिचान स्थापित गर्ने खेलकुद क्षेत्रको विकासमा तुलसीपुर नगर लागि परेको बताउनु भएको छ । स्थानीय स्तरबाट खेल क्षेत्रको बिकास भए मात्र सिङ्गो खेलकुद क्षेत्रले अपेक्षाकृत रुपमा फड्को मार्न सक्छ भन्ने सोचका साथ आफुहरु नीतिगत रुपमै यसको बिकासमा लागि परेको उहाँले बताउनु भयो । नगर क्षेत्रको खेल पुर्वाधार बिकास, खेल गतिबिधि, खेलाडिको संरक्षण र उन्नयनमा सम्बन्धित सरोकारवालासँग छलफल अन्तरक्रिया गर्दै यस क्षेत्रको खेलकुद विकासमा आफू सदैव कटिबद्ध भएर लाग्ने प्रतिवद्धता उहाँले ब्यक्त गर्नुभयो ।
साथै खड्काले सामुदायिक स्तरमा फुटबल खेलको बिकाससँगै खेलाडी उत्पादनको एउटा बलियो आधार स्तम्भ एन्फा कम्युनिटी कोचिङ कोर्स आफ्नै नगरमा हुनुले आफूमा उत्साह थपिएको बताउदै कोचिङ कोर्सको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
संघका अध्यक्ष संजात धितालको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि ज्ञानज्योति एजुकेशन फाउन्डेसनका सिईओ सुरेन्द्र जिसी, संघका सल्लाहकार भागवत पौडेल लगायतले कोचिङ कोर्सको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
एन्फाका टेक्निकल डाईरेक्टर हरि खड्का, एन्फाका हेड अफ कोच एजुकेशन संजित सिह प्रशिक्षक रहनु भएको कोचिङ कोर्सका क्रममा सामुदायिक स्तरमा कसरी खेलाडीहरुलाई प्रशिक्षित गर्ने, उमेर समुहको प्रशिक्षण, आधुनिक कोचिङ, प्रशिक्षण सत्र संचालन प्रक्रिया, प्रशिक्षणको आधारभुत बुझाई, टेक्टिस, टेक्निक, स्किल लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।
ज्ञानज्योती एजुकेसन फाउन्डेसनद्वारा संचालित ज्ञानज्योती एकेडेमी तुलसीपुर ६ गोलौरा र बरुवागाउँमा चार दिनसम्म चल्ने कम्युनिटी कोचिङ कोर्समा सात प्रदेशका विभिन्न जिल्लाका ४३ जना सिनियर खेलाडिहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक केशव चौधरीले जानकारी दिनुभएको छ ।
संघका उपाध्यक्ष पवन कुमार योगीको स्वागत रहेको कार्यक्रमको संचालन संघका महासचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।


